काठमाडौँ । इतिहासका पानामा केही दिनहरू यस्ता हुन्छन् जसले राष्ट्रको भविष्यको दिशा कोरिदिन्छन् । नेपालका लागि गएको भदौ २३ र २४ गते पनि त्यस्तै दिन बनेर आयो। भ्रष्टाचार र कुशासनको अन्त्यको माग गर्दै सडकमा उत्रिएको जेन-जी पुस्ताको शान्तिपूर्ण आन्दोलनले जब हिंसात्मक र विध्वंसात्मक रूप लियो, देशले एक अकल्पनीय संकटको सामना गर्नुपर्यो ।
यो आन्दोलनको रापले राजनीतिक सत्ता मात्रै हल्लाएन, देशको आर्थिक मेरुदण्डलाई पनि कमजोर तुल्याइदिएको छ । धुवाँको कालो मुस्लो र चित्कारको कोलाहलबीच हालसम्म ५० भन्दा बढी युवाले आफ्नो अमूल्य जीवन गुमाइसकेका छन् । हजार बढी घाइते अस्पतालको बेडमा अन्यौलताका बीच स्वास्थ्य लाभ गर्ने प्रयासमा छन् ।
सुरुवातमा यो केबल एक सडक प्रदर्शन थियो । सामाजिक सञ्जालमार्फत संगठित भएका युवाहरूको आवाज थियो, जसले देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारी र दण्डहीनताप्रति आफ्नो आक्रोश पोखिरहेका थिए। तर जब त्यो भीडमा अराजक तत्वहरूले घुसपैठ गरे, परिवर्तनको त्यो पवित्र ज्वाला विध्वंसको डढेलोमा परिणत भयो। केही घण्टाभित्रै, देशका प्रमुख प्रशासनिक केन्द्रहरू सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र राष्ट्रपति कार्यालय आगो र तोडफोडको चपेटामा परे। यो आगोको लप्काले सरकारी संरचनामा मात्र सीमित रहेन । त्यसले दशकौँको मेहनतले खडा भएका निजी व्यवसायहरूलाई पनि निल्न थाल्यो।
काठमाडौंका सडकहरू युद्धमैदानजस्ता देखिन्थे। प्रतिष्ठित हिल्टन होटलदेखि आम मानिसको दैनिक आवश्यकता पूरा गर्ने भाटभटेनी सुपरमार्केट र बिगमार्टका आउटलेटहरूमा लुटपाट र आगजनी भयो। चौधरी ग्रुपका उद्योग र सोरुमहरू, एनसेलका कार्यालयहरू, केबलकार स्टेशनहरू र सवारीसाधनका सोरुमहरू आक्रमणकारीको निशाना बने । यहाँसम्म कि उद्यमीका निजी निवासमा पनि आगो झोसिए । जलेका गाडीहरू, तोडफोड गरिएका पसलहरू र धुवाँले ढाकिएको आकाशले एउटा भयावह कथा बोलिरहेको थियो । एउटा यस्तो कथा जसले देशको अर्थतन्त्रलाई दशकौँ पछाडि धकेल्ने सामर्थ्य राख्दथ्यो।
क्षतिको आर्थिक आँकडा कहालीलाग्दो छ। अर्थविद्हरू करिब ३० खर्ब रुपैयाँ बराबरको क्षति भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिरहेका छन् । यो आँकडा देशको वार्षिक बजेटभन्दा पनि बढी हो । यो केवल भौतिक संरचनाको क्षति मात्र थिएन, यो देशको समग्र आर्थिक इकोसिस्टममाथिको प्रहार थियो। हजारौँ मानिसहरूले रातारात आफ्नो रोजगारी गुमाए। पर्यटन र लगानीको वातावरण ध्वस्त भयो जसले विदेशी लगानीकर्ताहरूमा नेपालको सुरक्षाप्रति गम्भीर संशय पैदा गरिदियो। यो संकटले देशलाई २०७२ को भूकम्प र कोभिड महामारीले निम्त्याएको भन्दा पनि गहिरो आर्थिक खाडलमा धकेल्ने खतरा बढाएको छ।
यद्यपि यही विनाशको काखबाट नेपालको निजी क्षेत्रले एक अभूतपूर्व साहस र दृढताका साथ पुनर्जागरणको संकल्प लिएको छ, एक यस्तो संकल्प जसले देशको भविष्यप्रतिको अटुट विश्वासलाई प्रतिबिम्बित गर्दछ।
व्यवसायीहरूको पीडा र अटल अठोट
आफ्नो जीवनभरको कमाइ, सपना र समर्पणले खडा गरेको साम्राज्य आफ्नै आँखा अगाडि दन्केर जलिरहेको देख्नुपर्दाको पीडा शब्दमा वर्णन गर्न सकिँदैन। तर देशका शीर्ष उद्योगी तथा व्यवसायीहरूले यो असह्य पीडालाई नै आफ्नो शक्तिको स्रोत बनाउने अठोट गरेका छन्। उनीहरूको आवाजमा वेदना छ तर त्योभन्दा कैयौँ गुणा बढी आशा, साहस र राष्ट्रप्रतिको प्रतिबद्धता छ।
नेपाल उद्योग वाणिज्य महासंघका तथा आईएमई ग्रुपका अध्यक्ष आफ्नो मन भारी भए पनि आफूलाई कमजोर हुने छुट नभएको बताए। उनले भने, "अर्बौं लगानी भएका आफ्नै आयोजनामा अनपेक्षित क्षति भइरहँदा गहभरी आँशु पारेर टोलाइरहन मन लागेर पनि मलाई त्यसो गर्ने छुट छैन।" आफूसँग आबद्ध २० हजारभन्दा बढी कर्मचारी र लाखौँ लगानीकर्ताको मनोबललाई जीवित राख्नु आफ्नो परम कर्तव्य भएको उनले महसुस गरेका छन्।
शून्यबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेको स्मरण गर्दै ढकालले भने, "मसँग कुनै बिँउ पुँजी नै थिएन। तर सपना थियो र त्यसलाई पूरा गर्ने हुटहुटी थियो। आफ्नै माटोमा केही गरौँ, यहीँ सुन फलाउँ भन्ने भावना थियो।" आज त्यही सपना जलेको देख्दा पनि उनी हारेका छैनन्। उनी भन्छन्, "अब खरानी टक्टकाएरै उठ्नुपर्नेछ । हाम्रा मन र आत्मबललाई दरो बनाउनुपर्ने छ र उठ्नैपर्ने छ।" उनले भूकम्प र कोरोना महामारीजस्ता संकटबाट पार पाएको निजी क्षेत्रलाई फेरि एकपटक नआत्तिन र नथाकीकन पुनर्निर्माणको महाअभियानमा जुट्न आह्वान गरेका छन्।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यी दिनहरूलाई आफ्नो जीवनकै सबैभन्दा कठिन घडीको रूपमा चित्रित गरे। चौधरी ग्रुपका कारखाना, सोरुम र निवासमा समेत नियोजित आक्रमण भएको थियो। उनले भने, "शताब्दीभरको मेहनत र समर्पण एक क्षणमै खरानीमा परिणत भएको दृश्य मेरो हृदयमा अमिट बनेर बस्यो।"
तर, यही अन्धकारको बीचमा उनले आफ्नो कर्मचारीहरूको अटुट साहसमा आशाको किरण देखे। उनले भावुक हुँदै भने, "आगो सल्किरहेको थियो, भीड चिच्याइरहेको थियो, तर हाम्रो व्यवस्थापकदेखि कर्मचारीसम्म सबैले आफ्नो जीवनलाई जोखिममा राखेर सीजीको वाचा निभाइरहेका थिए। उनीहरूले भवन मात्र जोगाइरहेका थिएनन्, बरु आशा र भरोसाको ज्योति पनि जीवित राखिरहेका थिए।" उनको अठोट स्पष्ट छ, "शत्रुले भवन जलाउन सक्छ, तर सपनालाई जलाउन सक्दैन। उनीहरूले पसल लुट्न सक्छन् तर हाम्रो मूल्यमान्यता लुट्न सक्दैनन्। हामी यो विपत्तिबाट फेरि उठ्नेछौं । अझ मजबुत भएर उठ्नेछौं ।"
वरिष्ठ उद्यमी शेखर गोल्छाको निवासमा भएको आक्रमण र आगजनीले उनलाई विचलित बनाउन सकेन। बरु, उनले अझ सशक्त भएर देशमा लगानी गर्ने घोषणा गरे। सामाजिक सञ्जालमार्फत उनले भने, "म र मेरो परिवार निराश वा विचलित भएको छैन। आजको सुनौलो बिहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस् भन्ने कामनासहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु।" उनको यो सन्देशले आक्रमणकारीलाई एउटा दरिलो जवाफ दिएको छ कि हिंसाले उद्यमशीलताको भावनालाई मार्न सक्दैन।
नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेन्द्र मल्लले यो संकटलाई नेपालको इतिहासमा बारम्बार आइरहने उथलपुथलको पछिल्लो कडीको रूपमा हेरेका छन्। उनले भने, "हाम्रो अर्थतन्त्र तँग्रिँदै थियो, फेरि ठूलो वज्रपात भयो। तर हामी भाँचिएका छैनौं। निजी क्षेत्र दरिलो रूपमा अघि बढ्न तयार छ।" उनले आन्दोलनमा भएको घुसपैठको छानबिन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउन माग गर्दै निजी क्षेत्रलाई स्वदेशमा काम गर्ने सुरक्षित वातावरण बनाउन नयाँ सरकारसँग आग्रह गरे।
सिटिजन्स बैंक इन्टरनेसनलका अध्यक्ष प्रबल जंग पाण्डे राजनीतिक नेताहरूको गलत निर्णयको प्रत्यक्ष सजाय व्यापारीहरूले भोग्नु परेको गुनासो गर्छन् । ऋणका भरमा उद्योग सञ्चालन गरी कर तिर्दै आएका व्यवसायीले आफ्नै घर र उद्योगलाई निसाना बनाइएको गुनासो उनको छ । उनीहरूले शान्ति–सुरक्षाको प्रत्याभूति बिना लगानी, उत्पादन र रोजगारी सिर्जना सम्भव नहुने चेतावनी दिएका छन् । अध्यक्षले पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, “राजनीतिक नेताहरूको गल्तीको सजाय व्यापारीलाई दिनु अन्याय हो । हामी लाखौँ जनतालाई रोजगारी दिएका छौँ, राज्यलाई कर बुझाएका छौँ, तर आन्दोलनमा हाम्रै उद्योग र घरमा आक्रमण भयो । शान्ति र व्यक्तिगत सुरक्षाको प्रत्याभूति नै पहिलो सर्त हो, त्यसपछि मात्र व्यवसायलाई अघि बढाउन सकिन्छ ।”
नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्र राज पाण्डेले आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाले उद्योगी व्यवसायीलाई दुःखी एवं चिन्तित बनाएको बताए । तोडफोड, आगजनी एवं लुटपाटका घटनाले लगानीकर्तालाई त्रसित बनाएको र त्यसका साथै धेरैको रोजगारी प्रभावित भनेकोतर्फ पनि उनले जोड दिएका छन् । यस प्रकारको गतिविधिले लगानीकर्ता त्रसित हुने भन्दै व्यवसाय गर्ने वातावरण बनाइ सुरक्षाको प्रत्याभूती दिलाउन पनि सरकारसँग उनले आग्रह गरे ।
यस्तै लक्ष्मी ग्रुपका प्रबन्ध निर्देशक अञ्जन श्रेष्ठले व्यवसाय र व्यवसायीप्रति चोट परेकोमा दुःख व्यक्त गर्दै हालको कठिन घडीलाई चिरेर थप मजबुतीका साथ उदाउने संकल्प व्यक्त गरे ।
ग्रीक मिथकमा फिनिक्स नामक चराको वर्णन पाइन्छ । यो चरा उमेर ढल्किँदै जाँदा आगोमा जलेर खरानी हुन्छ तर त्यसै खरानीबाट पुनः जन्म लिई आफ्नो जीवन चक्र निरन्तर अघि बढाउँछ । अहिलेको परिस्थितिमा नेपालका उद्यमी र व्यवसायीहरू पनि त्यही फिनिक्स चराजस्तै देखिन्छन् । पछिल्ला दुई–तीन दिनमा उनीहरू खरानीझैं बनेका छन् तर उनीहरूको अडान र आत्मविश्वास बलियो छ । यही साहसले उनीहरूलाई पुनर्जन्मको बाटोमा डोर्याउनेछ ।





































