काठमाडौं । यही फागुन २५ गते शुक्रबारका दिन हिन्दुनेपालीको विशेष पर्वको रुपमा हेरिने महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउनका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न समिति बनाएर तयारीलाई तीब्रता दिएको छ ।
पशुपति क्षेत्र विकास कोष परिसर,नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागसमेतबाट सुरक्षाका जनशक्ति परिचालन गर्दै महाशिवरात्रि पर्वलाई व्यवस्थित गर्ने तयारीमा लागेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।
कोषका सदस्य सचिव समेत रहेका राजुकुमार खत्रीका अनुसार महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरीको मूल शिविर रहने छ , भने सशस्त्र प्रहरी बलको नेपाल सुरक्षा कमाण्ड पोष्ट पशुपति क्षेत्र नासल चोकमा रहने बताएका छन् । मूल शिविरसँगै कमाण्डपोष्टअन्तर्गत सब कमण्ड पोष्ट खडा गरी समग्र पशुपति क्षेत्रको महाशिवरात्रि पर्वमेला त्रुटिरहित सुरक्षा प्रणाली अपनाइनेछ ।
खत्रीले भने ,“मन्दिर तथा मुख्य क्षेत्रभित्रमा मन्दिरका भण्डारी लगायत सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षाकर्मी परिचालन हुने तथा मन्दिर परिसरमा स्वयंसेवकका लागि नेपाल स्काउट लगायत चार हजार जना स्वयंसेवक खटिने छन् ।”
यसैगरी खोजखबर कक्षको व्यवस्थापनसहित मेला क्षेत्र र दर्शनमार्गलाई लक्षित गरी सिसी क्यामेराको जडान गर्ने, दर्शनमार्गमा ‘ब्यारिकेड’ जडानलगायत कार्यमा र मन्दिरभित्र भीड व्यवस्थापनका लागि नेपाली सेनाको विशेष सहयोग हुने कोषका सदस्य सचिव खत्रीको भनाई छ ।
यस्तै जुत्ता, चप्पल व्यवस्थापन दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग, भुवनेश्वरी नजिक शङकराचार्य मठ पछाडि, बज्रघर दक्षिणतर्फ, राममन्दिर नजिक वागमती पारी गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषको भनाई छ ।
यस्तै चन्दन वितरण दर्शन गरेर निस्किने मुख्य क्षेत्रभित्र, जयवागेश्वरी, ब्रजघर अगाडि दक्षिण ढोका र तिलगङ्गामा समेत रहनेछ । पशुपतिनाथको दर्शनका लागि यसपटक नौ वटा मार्गको व्यवस्था गरिएको सदस्य सचिव खत्रीले बताउनुभयो । उहाँका अनुसार उत्तरपट्टी तीन, पूर्वपट्टी दुई, दक्षिणपट्टी दुई तथा पश्चिमपट्टी दुई मार्गको व्यवस्था गरिएको छ ।
यसैगरी पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि तिलगङ्गा करिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरहाको उपलब्ध ठाउँ, गुह्येश्वरी पारी गरी पाँच स्थानमा व्यवस्थापन गरिएको विकास कोषले जनाएको छ । विमानस्थल, गौशाला, चाबहिलको रिङरोडमा यात्रुको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यकताअनुसार डाइभर्सनकोसमेत व्यवस्था मिलाइने जनाइएको छ । सडक छेउमा फुटपाथका कुनै पनि पसल राख्न नदिइने कोषले जनाएको छ ।
कोषले मन्दिर परिसरमा मासु, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ गाँजा, भाङजस्ता पदार्थको बिक्रीवितरण एवं ओसारपसार र भण्डारण तथा सेवन नगर्न आग्रह गरेको छ । कोषले यस पटकको महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अभिलाषा राखेको छ ।
बत्तिसपुतली, मैतिदेवी, पुरानो बानेश्वरतर्फबाट आउने दर्शनार्थीका लागि गौशाला–पिङ्गलास्थान गेट हुँदै वनकाली हुँदै दक्षिण ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ । यसैगरी भक्तपुर, ललितपुर, कोटेश्वर, तिनकुने, विमानस्थल, तिलगङ्गा क्षेत्रबाट दर्शनार्थीका लागि मन्दिरको पूर्वी ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ ।


































