काठमाडौँ । चालु आर्थिक वर्ष २०८१ /८१ को साउन महिनामा मात्रै देशभर ४३ हजार आठ सय ३५ सङ्ख्यामा घरजग्गा कारोबार भएको छ ।
भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कले सार्वजनिक गरेको तथ्यांक अनुसार यो गत आर्थिक वर्ष २०८०र८१ को साउन महिनाको तुलनामा ११.६४ प्रतिशतले बढी हो। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्क अनुसार गत वर्ष साउनमा देशभर ३९ हजार दुई सय ६३ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो ।
अघिल्लो दुई आर्थिक वर्षका साउन महिनाको तुलनामा यस वर्षको साउनमा घरजग्गा कारोबार बढेको जनाएका छन् । घरजग्गा कारोबारका लागि साउन महिनालाई ‘अपसिजन’को रूपमा हेरिने भएको भएपनी यस वर्षको साउन महिनामा कारोबार बढेको नेपाल घरजग्गा आवास विकास महासंघ अध्यक्ष भेषराज लोहनीको भनाई छ । २०८१ असारमा देशभरको मालपोत कार्यालयबाट ४६ हजार १७९ सङ्ख्यामा कारोबार भएको छ।
उक्त कारोबारमा राजस्व ३१ प्रतिशतले बढेको छ । २०८० को साउन महिनामा कारोबारमा आएको सुधारसँगै राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । साउनमा सरकारलाई घरजग्गा कारोबारबाट ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ । विभागको अनुसार यो गत वर्ष (२०८०) को साउन महिनाको तुलनामा ३१.७७ प्रतिशतले बढी हो । गत साउनमा २ अर्ब ९१ करोड ४ लाख २७ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो ।
सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । साउनमा सरकारले सेवाकरवापत २६ करोड ६८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी, रजिष्ट्रेशन दस्तुर बापत २ अर्ब ५५ करोड १९ लाख ५१ हजार रुपैयाँ कर उठाएको छ ।






































