काठमाडौँ । महानगरपालिका र उप–महानगरपालिका क्षेत्रमा व्यावसायिक रूपमा घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थाहरूले अब अनिवार्य रूपमा इजाजत पत्र लिनुपर्ने भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र आवेदन दिन सम्बन्धित पक्षलाई आह्वान गरेको हो।
मालपोत ऐन, २०३४ को दफा २६ (क) र २६ (ख) अनुसार घरजग्गा कारोबार गर्न चाहने प्राकृतिक तथा कानुनी व्यक्तिले इजाजत लिनुपर्ने व्यवस्था रहेकाले विभागले राजपत्रमा प्रकाशित सूचनाका आधारमा यस्तो आह्वान गरेको हो।
सूचना अनुसार महानगर तथा उप–महानगर क्षेत्रमा एक पटकमा ३ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्न चाहने संस्थाले अनिवार्य रूपमा इजाजत लिनुपर्नेछ।
आवेदकले मालपोत नियमावली, २०३६ को अनुसूची–८ अनुसारका आवश्यक कागजात स्क्यान गरी अनलाइनमार्फत पेश गर्नुपर्नेछ भने आवेदनको प्रिन्ट प्रतिलिपि विभागमा बुझाउनुपर्नेछ। साथै, सञ्चालक सदस्यहरूले कुनै आपराधिक गतिविधिमा संलग्न नरहेको स्व–घोषणा पत्र समेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

































