काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा जोडिएका जीवन चलाउनेसहित तीन जनालाई पक्राउ गरेर छाडेको पाइएको छ ।
सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरे अनुसार सीआईबीले अछामका जीवन चलाउनेसँगै नेपाली नागरिक रामकृष्ण थापा र भारतीय नागरिक नन्दकुमार पाण्डुराम मार्गलेलाई पनि सीआईबीले पक्राउ गरेर छाडेको उल्लेख गरिएको छ।
पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक ९एआईजी० सहकुलबहादुर थापा, अर्थ मन्त्रालयका पूर्व सहसचिव किशोर जङ्ग कार्की र गृह मन्त्रालयका पूर्व सहसचिव प्रेमराज जोशी सदस्य रहेको आयोगको प्रतिवेदनमा उल्लेख भए अनुसार नन्दकुमारका दाजु-भाइ न्यूरोडमा सुन चाँदी पसल गर्छन् ।
उनीहरूले तस्करीको सुन किन्ने गरेको र नेपालदेखि भारतसम्म पुर्याएर बेच्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।
पक्राउ गरेर छाडिएका अर्का व्यक्ति रामकृष्ण थापा भने विमानस्थलमा सेटिङ मिलाउने व्यक्ति रहेको खुलेको छ । विमानस्थलमार्फत हुने सुन तस्करीको सम्पूर्ण सेटिङ मिलाउने र त्यहाँबाट सुन पास भएपछिको व्यवस्था समेत मिलाउने गरेको व्यक्ति रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
त्यसै गरी सुन तस्करीमा रहेर अहिलेसम्म फरार रहेका अर्का प्रतिवादी चलाउनेलाई सीआईबीका प्रमुख तथा एआईजी किरण बज्राचार्यले बिदाको दिन बोलाएर बयान लिएर छाडेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
भदौ २० गते कृष्ण जन्माष्टमीको दिन सीआईबीले चलाउनेलाई बोलाएर छाडेको आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यति बेला सीआईबीका एआईजी बज्राचार्यसँग चलाउनेले उनकै कार्यकक्षमा आधा घण्टा बिताएको उल्लेख गरिएको छ ।
सीआईबीले बयान लिएर छाड्ने मात्रै होइन, जाँचबुझ आयोगलाई बयान दिन विदेशबाट नेपाल आएका बेला समेत सीआईबीले नै चलाउनेलाई भगाएको आयोगका सदस्यले बताएका छन् । चलाउने सुरुमा मलेसियामा थिए । विभिन्न सूत्रमार्फत आयोगले उनलाई सम्पर्कमा ल्याएको थियो ।
































