काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा क्रमिक सुधार आएको छ । चालु आर्थिक वर्षको सुरुवातदेखि नै खुम्चिँदो अन्तर्राष्ट्रिय व्यापार बिस्तारै लयमा फर्किने संकेत गरेको छ । भन्सार विभागले हालै प्रकाशन गरेको पुस मसान्तसम्मको तथ्याकले यस्तो देखाउँछ ।
चालु आवको पहिलो ६ महिनामा आयात र निर्यातमा व्यापक सुधार देखिएको छ ।
आर्थिक शिथिलताको कारण लामो समयदेखि आन्तरिक व्यापार पनि सुस्त नै थियो । अपेक्षाकृत रूपमा आर्थिक गतिविधि नहुँदा आयात र निर्यातको व्यापार पनि बढ्न सकेको थिएन । तर, अहिले आन्तरिक रूपमा हुने आर्थिक क्रियाकलामा समेत बिस्तारै चलायमान हुँदै गएको छ । पछिल्लो समय बस्तु तथा सेवाको माग पनि बढ्न थालेको छ , जसले आयातको आँकडालाई बढाइ रहेको छ ।
विभागका अनुसार मासिक औसतमा १ खर्ब ३७ अर्ब बराबरको आयात भइरहेको आँकडाले देखाउँछ । पुसमा मात्रै १ खर्ब ६० अर्ब ८८ करोड १९ लाख बराबरको आयात भएको छ । यस्तै, मंंसिरमा १ अर्ब ४८ अर्ब १ करोड ५ लाख, कार्तिकमा १ खर्ब २२ अर्ब ६३ करोड ५७ लाख असोजमा १ खर्ब २८ अर्ब २० करोड ९६ लाख बराबरको आयात भएको थियो । यता, गत भदौमा १ खर्ब ३४ अर्ब १६ करोड ५५ लाख र साउनमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख बराबरको आयात भएको छ ।
आयात बढेसँगै भन्सार राजस्वमा समेत दोहोरो अंकको बढोत्तरी देखिएको छ । गत आवको पहिलो ६ महिनामा कुल आयातबाट सरकारले २ खर्ब ३ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ राजस्व प्राप्त गरेको थियो। तर, चालु आवको सोही अवधिमा १०.१३ प्रतिशत बढेर २ खर्ब २४ अर्ब ३४ करोड ४ लाख रुपैयाँ पुगेको छ । पोहोरको भन्दा भन्सार राजस्व साढे २० अर्ब उठेको छ ।
निर्यातमा पनि उल्लेख्य सुधार, ६ महिनामै झण्डै खर्बको निर्यात
नेपालको आयातको व्यापार मात्रै नभई निर्यातमा पनि उस्तै सुधार देखिएको छ । कुल व्यापारको तुलनामा निर्यातको अंश ज्यादै सानो हुने गरेको भए पनि चालू आर्थिक वर्षको सुरुदेखि निर्यातमा सुधार देखिएको छ।
अघिल्ला वर्षहरूमा आयात उच्च दरले बढ्दा पनि निर्यातको वृद्धिदर राम्रो हुन सकेको थिएन। यो वर्ष भने निर्यातमा सुधार भइरहेको विभागको तथ्यांकमा उल्लेख छ ।
भन्सार विभागका अनुसार ६ महिनाको अवधिमा निर्यात ३१.७८ प्रतिशत बढेको छ । सो अवधिमा ९८ अर्ब ७९ करोड ९२ लाख बराबरको निर्यात भएको छ । गत वर्षको पुस मसान्तसम्म भने नेपालले ७४ अर्ब ९६ करोड ८० लाख रुपैयाँको निर्यात गरेको थियो । विभागका अनुसार पुस महिनामा मात्रै नेपालले २५ अर्ब १२ करोड ९४ लाख बराबरको बस्तु निर्यात गरेको छ ।
त्यस्तै, मंसिरमा २० अर्ब ९८ करोड ९० लाख, कार्तिकमा १४ अर्ब २९ करोड १९ लाख, असोजमा १३ अर्ब २८ करोड ५६ लाख, भदौमा १२ अर्ब ८६ करोड ६९ लाख र साउनमा १२ अर्ब २२ करोड ६१ लाख बराबरको निर्यात गरेको थियो ।
सुध्रिँदो अन्तर्राष्ट्रिय व्यापारमा दर लाग्दो घाटा
पछिल्लो समय नेपालको वैदेशिक व्यापारमा सुधार देखिए पनि व्यापार घाटा भने डरलाग्दो छ । ६ महिनामै नेपालले ७ खर्ब २३ अर्ब ५८ करोड १२ लाख ९९ हजार रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । यो गत आवको पुस अन्तको तुलनामा भने ४.३८प्रतिशत बढी हो। गत आवको सो अवधिमा पनि नेपालको वैदेशिक व्यापार घाटा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख रुपैयाँ थियो ।
नेपालको आयातको तुलनामा निर्यात ज्यादै न्यून हुने भएकाले वर्षेनी खर्बौँ रकम घाटा बेहोर्दै आएको छ । नेपालको अन्तर्राष्ट्रिय व्यापार विश्वका १५० भन्दा बढी मुलुकसँग देखिए पनि केही राष्ट्रले मात्रै नेपाललाई नाफा दिलाएका छन् । तर अधिकांश मुलुकसँग भने मोटो रकम व्यापार घाटा बेहोर्दै आएको छ । नेपालबाट निर्यात हुने कृषिजन्य उत्पादन, हस्तकला सामाग्री लगायत सम्भावित आइटी सेवा लाई सहज रुपमा निर्यात गर्ने वातावरण भयो भने व्यापार घाटा कम गर्न टेवा पुग्ने थियो


































