काठमाडौँ । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण एवं आधुनिकीकरणका लागि खास रूपमा हेरिएको मकवानपुरमा निर्माणाधीन चार सय केभी क्षमताको सवस्टेशनको काम करिब अन्तिम चरणमा पुगेको छ ।
सवस्टेशन मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा निर्माणाधीन छ । हेटौँडा सवस्टेसनमा ४००-२२० केभी, २२०-१३२ केभी र १३२-११ केभी सवस्टेसन निर्माणाधीन छन् ।
हाल उक्त सवस्टेशनमा एक महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ सवस्टेसनका उपकरण जडान, परीक्षणलगायतका काम अन्तिम चरणका पुगेको छ ।
उक्त सवस्टेशन निर्माण अनुगमन, अवलोकन गर्न निर्माणाधीन स्थलमा पुगेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पछिल्लो समयमा सवस्टेसनको काम सन्तोषजनक रूपमा अगाडि बढेको जानकारी दिएका छन्। कार्यकारी निर्देशक घिसिङले निर्माणमा संलग्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग काम र प्रगति विवरणबारे छलफल गरेको थिए ।
घिसिङले एक महिनाभित्रै सवस्टेसन सञ्चालनमा ल्याउने गरी बाँकी काम सम्पन्न गर्न निर्देशन दिएको बताएका छन् । सरकार र विद्युत् प्राधिकरणको लगानीमा हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी सवस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन ४००-२२० केभी हेटौँडा सवस्टेसनमा तीन सय १५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मर छन् । त्यसको क्षमता नौ सय ४५ एमभिए छ ।
धनुषाको ढल्केबरबाट र अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसिसी०बाट प्राप्त हुने अनुदानबाट नुवाकोटको रातमाटेबाट निर्माण हुने चार सय केभीको डबल सर्किट प्रसारण लाइन हेटौँडा सवस्टेसनमा ल्याएर जोडिनेछ । यसका लागि हेटौँडा सवस्टेसनमा आवश्यक पूर्वाधार निर्माण गरिएको छ ।
देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबिचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा २२०- १३२ केभी सबस्टेसन निर्माण गरिएको हो । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत १३२-११ केभी हेटौँडा सवस्टेसन निर्माण गरिएको हो। यो सवस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्ति गरिनेछ ।

































