काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेश सभा निर्वाचनपछि बागमती प्रदेश सरकार आफ्नो पार्टीले गठन गर्ने दाबी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनमा पार्टीले सशक्त उपस्थिति जनाउने बताएका हुन् ।
घिसिङका अनुसार आगामी २०८४ सालको निर्वाचनमा उज्यालो नेपाल पार्टीले उल्लेख्य सफलता हासिल गर्ने लक्ष्य राखिएको छ । उनले विशेषगरी बागमती प्रदेशलाई राजनीतिक विस्तारको केन्द्र बनाएर संगठन सुदृढीकरणको अभियान अघि बढाइएको जानकारी दिए ।
उनले विगतमा राजनीतिक अनुभवको कमीका कारण चुनौती सामना गर्नुपरेको स्वीकार गर्दै अब आगामी दिनमा कुनै पनि राजनीतिक षड्यन्त्रमा नफस्ने स्पष्ट पारे । पार्टीलाई राष्ट्रिय स्तरको शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उनले बताए ।
अध्यक्ष घिसिङले पार्टी प्रवेशको लहरले जनताको विश्वास झल्किएको दाबी गर्दै आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई प्रमुख राजनीतिक शक्ति बनाउने लक्ष्यसहित अघि बढिरहेको उल्लेख गरे ।
उनले पार्टीको पहिचान र सिद्धान्तलाई कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै संगठन कुनै पनि अवस्थामा अन्य दलमा विलय नहुने स्पष्ट पारे ।
आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले स्थानीय तह र प्रदेशमा जित हासिल गर्ने रणनीति बनाएको उल्लेख गर्दै उनले बागमतीसँगै अन्य प्रदेशमा पनि सरकार गठन गर्ने उद्देश्य रहेको बताए ।


































