काठमाडौं । तीन महिनामा मुलुकको विदेशी मुद्रा सञ्चिति ६.७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय प्रतिवेदनअनुसार असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति असोज मसान्तसम्म बढेर १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।
सो अवधिमा अमेरिकी डलरमा भने यस्तो सञ्चिति ५.३ प्रतिशतले बढेर १२ अर्ब ३३ करोड डलर पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग १४ खर्ब ३३ अर्ब ३६ करोड रुपैयाँ बराबर छ भने अरु बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ९ अर्ब ७३ करोड रुपैयाँ बराबर छ ।
आर्थिक वर्ष २०८०/८१ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।





































