काठमाडौं । नेपालमै उत्पादन हुने भएकाले त्यति धेरै आयात गर्नु नपर्ने भए पनि चालु आवकोे ५ महिना अर्थात् मंसिरसम्ममा १ लाख रुपैयाँ बराबरको तरुल आयात भएको छ ।
पछिल्लो सात दिनमा कालीमाटी तरकारी बजारमा मात्रै ६ लाख २३ हजार ७०६ किलोग्राम बराबरको तरुल, १ लाख ९९ हजार ६५० किलोग्राम सखरखण्ड र ६१ हजार ४१५ किलोग्राम पिँडालु भित्रिएको विभागले जनाएको छ ।
यसैबीच तरुलको भाउ पोहोरभन्दा यसवर्ष दोब्बरले महँगो भएको छ । पोहोर आजको दिन अर्थात् माघे सङ्क्रान्तिको दिन तरुलको न्यूनतम औषत मूल्य प्रतिकिलो ४६ र अधिकतम ५० रुपैयाँ रहेकोमा आज तरुलको औषत भाउ किलोमा न्यूनतम एक सय र अधिकतम एक सय २० रुपैयाँ छ ।
काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा आज तरुलको औषत मूल्य किलोमा एक सय १० रुपैयाँ रहेको छ । तरुल गएको वर्षभन्दा महँगो भएको हो ।
यसैगरी पिँडालु पनि महँगो नै भएको छ । पोहोर पिँडालु किलोमा ६७ रुपैयाँ रहेकोमा अहिले ८५ रुपैयाँ रहेको छ । तर पोहोरभन्दा सखरखण्डको भाउ केही घटेको छ । सखरखण्ड पोहोर किलोको ७७ रुपैयाँ रहेकोमा अहिले आजको दिन १३ रुपैयाँले घटेर किलोमा ६५ रुपैयाँ रहेको छ ।
कन्दमूल अर्थात् माटोमुनि फल्ने तरुलसहित सखरखण्ड र पिँडालुको माग माघे सङ्क्रान्तिका दिन उच्च हुने गर्छ ।

































