काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक अनुदानबाट अपेक्षित रकम जुटाउन सकेन । सरकारले ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ वैदेशिक अनुदान परिचालन गर्ने लक्ष्य राखेकोमा ३१ अर्ब २६ करोड ४१ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ ।
यो रकम लक्ष्यको ५८.५ प्रतिशत मात्रै हो ।
अर्थ मन्त्रालयका आर्थिक बुलेटिनहरूको तथ्यांक विश्लेषण गर्दा पछिल्लो पाँच वर्षमा नेपालले वैदेशिक अनुदानतर्फ राखेको लक्ष्यको औसत ४६.१२ प्रतिशत मात्रै प्राप्त गर्न सकेको देखिन्छ । यस अवधिमा वैदेशिक सहायताअन्तर्गत ऋणको हिस्सा बढ्दै गए पनि अनुदान भने अपेक्षाअनुसार बढ्न सकेको छैन ।
पूर्वअर्थसचिव डा. रामप्रसाद घिमिरेले वैदेशिक सहायता अन्तर्गतका कार्यक्रम तथा परियोजना प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा प्रतिबद्धताअनुसार अनुदान प्राप्त हुन नसकेको बताए ।
उनका अनुसार अधिकांश अनुदान निश्चित कार्यक्रम वा परियोजनासँग जोडिएका हुन्छन् । ती परियोजना समयमै कार्यान्वयन गर्न सकेमा थप अनुदान भित्र्याउन सकिने सम्भावना रहन्छ ।
विश्वव्यापी रूपमा पनि सरकारमार्फत वैदेशिक अनुदान दिने क्रम घट्दै गएको उनले बताए । दाता मुलुकभित्रै पनि निःशुल्क अनुदान वितरणबारे प्रश्न उठ्न थालेको भए पनि प्रभावकारी कूटनीतिक पहल र राम्रो परियोजना प्रस्तावमार्फत अनुदान ल्याउन सकिने उनको भनाइ छ ।
बजेट ठूलो देखाउन अनुदान लक्ष्य बढी राख्ने प्रवृत्ति
अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार कतिपय अवस्थामा बजेटको आकार ठूलो देखाउन वैदेशिक अनुदानको लक्ष्य वास्तविक सम्भावनाभन्दा बढी राख्ने गरिएको छ ।
उनले अनुदान प्राप्त हुने सुनिश्चितता नभए पनि आगामी वर्ष सुधार गर्ने अपेक्षासहित बजेटमा उच्च लक्ष्य राख्ने प्रवृत्ति रहेको बताए ।
वैदेशिक सहायता प्रतिबद्धता पनि घट्यो
सरकारी तथ्यांकअनुसार वैदेशिक सहायता प्रतिबद्धता समेत घटेको छ । आर्थिक वर्ष २०८२/८३ को जेठसम्म ४० अर्ब ८८ करोड रुपैयाँ बराबरको वैदेशिक अनुदान प्रतिबद्धता प्राप्त भएको छ ।
यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा २६ अर्ब ३८ करोड रुपैयाँ कम हो । अघिल्लो वर्षको जेठसम्म ६७ अर्ब २६ करोड रुपैयाँ बराबरको अनुदान प्रतिबद्धता आएको थियो ।
अर्थ मन्त्रालयका अनुसार जेठ मसान्तसम्म अनुदान ४० अर्ब ८८ करोड र ऋण ९३ अर्ब ९५ करोड गरी कुल वैदेशिक सहायता प्रतिबद्धता १ खर्ब ३४ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३९.३ प्रतिशतले कम हो ।
चालू आवमा झन् ठूलो लक्ष्य
गत आर्थिक वर्षमा लक्ष्यको ५८ प्रतिशत मात्रै वैदेशिक अनुदान प्राप्त गरेको सरकारले चालू आर्थिक वर्ष २०८३/८४ का लागि भने अझ ठूलो लक्ष्य राखेको छ ।
सरकारले चालू आवमा ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ वैदेशिक अनुदान परिचालन गर्ने लक्ष्य तय गरेको छ ।



































