काठमाडौं । २०८३ साउनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.६८ प्रतिशत रहेको थियो ।
साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७७ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.२८ प्रतिशतले ऋणात्मक थियो भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको थियो ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेलको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.६२ प्रतिशतले बढेको छ । यस्तै, फलफूलको १५.३९ प्रतिशत, माछा तथा मासुको ८.६५ प्रतिशत, तरकारीको ६.९० प्रतिशत र मरमसलाको ४.८० प्रतिशतले मूल्य बढेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायातको मूल्य सूचकाङ्क १३.१७ प्रतिशतले बढेको छ । त्यस्तै, मदिराजन्य पेय पदार्थको ७.२० प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ५.५२ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.९७ प्रतिशतले मूल्य वृद्धि भएको छ ।
क्षेत्रगत रूपमा ग्रामीण क्षेत्रमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.१८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रमा ५.८८ प्रतिशतले वृद्धि भएको छ ।
प्रदेशगत रूपमा साउनमा सबैभन्दा बढी मुद्रास्फीति मधेश प्रदेशमा ६.९४ प्रतिशत रहेको छ । सबैभन्दा कम मुद्रास्फीति सुदूरपश्चिम प्रदेशमा ४.६१ प्रतिशत रहेको छ ।
क्षेत्रअनुसार काठमाडौं उपत्यकामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८१ प्रतिशत रहेको छ । तराईमा ६.६४ प्रतिशत, पहाडमा ५.९५ प्रतिशत र हिमालमा ५.१० प्रतिशत मुद्रास्फीति रहेको छ ।


































