काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा बढेको छ। साउनदेखि असोजसम्ममा नेपालले ६ खर्ब ४६ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ भने निर्यात १ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ। आयात र निर्यात दुवै बढे पनि व्यापार घाटा भने ५ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.१८ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले ४ खर्ब ६८ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको थियो।
यस अवधिमा निर्याततर्फ पनि उल्लेख्य वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा नेपालबाट १ खर्ब १४ अर्ब रुपैयाँबराबरको वस्तु निर्यात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको ७२ अर्ब रुपैयाँको निर्यातको तुलनामा ५७.०३ प्रतिशतले बढी हो।
आयात र निर्यात दुवैमा वृद्धि भएसँगै नेपालको कुल वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल वैदेशिक व्यापार ७ खर्ब ६ अर्ब रुपैयाँ नाघेको भन्सार विभागको तथ्यांकले देखाएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार ५ खर्ब ५० अर्ब रुपैयाँ रहेको थियो।
आयातको तुलनामा निर्यातको हिस्सा कम रहेकाले व्यापार घाटा बढ्ने क्रम जारी छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापार घाटा ३४.७१ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको साउनदेखि असोजसम्ममा व्यापार घाटा ३ खर्ब ९५ अर्ब रुपैयाँ रहेको थियो।
तथ्यांकअनुसार आयात र निर्यात दुवैमा वृद्धि भए पनि आयातको आकार ठूलो रहेकाले नेपालको व्यापार घाटामा उल्लेख्य सुधार हुन सकेको छैन।


































