National life

हेटौडा कपडा उद्योगले थाल्यो परीक्षण उत्पादन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|२३ साउन २०८३, शनिबार
2.9kShares
हेटौडा कपडा उद्योगले थाल्यो परीक्षण उत्पादन
ncell

काठमाडौं । वर्षौंदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगले शनिबारदेखि पुनः परीक्षण उत्पादन सुरु गरेको छ। लामो समयदेखि रुग्ण अवस्थामा रहेको उद्योगबाट कपडा उत्पादनको परीक्षण थालिएको हो।

प्रधानमन्त्री बालेन्द्र शाहको निजी सचिवालयका सहसचिव प्रदीप परियारले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु भएको जानकारी दिएका हुन्।

उनका अनुसार नेपाली सेनाका जर्नेलको नेतृत्वमा पुराना मेसिनहरू मर्मत गरी सञ्चालनमा ल्याइएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लामो समयदेखि थन्किएका तानहरूबाट पुनः कपडा उत्पादन सुरु भएको उनले बताए।

प्रधानमन्त्री शाहको विशेष निर्देशन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको पहलमा बन्द अवस्थामा रहेको उद्योग पुनः सञ्चालनको प्रक्रिया अघि बढाइएको हो।

हेटौंडा कपडा उद्योग २०६९ साल माघ १२ गतेको मन्त्रिपरिषद् निर्णयबाट खारेजीमा परेको थियो। अहिले प्रधानमन्त्री शाहको चासोमा उद्योगलाई पुनर्जीवन दिने प्रयासस्वरूप परीक्षण उत्पादन सुरु गरिएको हो।

उद्योगका मेसिनहरूको अवस्था अध्ययन तथा मर्मतका लागि अर्थ मन्त्रालयबाट ३३ लाख रुपैयाँ बजेट निकासा गरिएको थियो। तत्कालका लागि कपासबाट धागो उत्पादन गर्ने प्रक्रिया नगरी बाहिरबाट धागो खरिद गरेर कपडा बुन्ने मेसिनको परीक्षण गरिनेछ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार परीक्षण उत्पादनको नतिजाका आधारमा उद्योग सञ्चालनको दीर्घकालीन मोडालिटी तय गरिनेछ।

उनका अनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी उद्योगलाई दीर्घकालीन रूपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा निर्णय लिइनेछ।

अहिले परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। सेनाले सरसफाइ, मेसिन तथा उपकरण मर्मत सम्भार गरी उत्पादन सुरु गरेको हो।

‘सञ्चालन मोडालिटी तय नहुँदासम्म परीक्षण उत्पादनका लागि नेपाली सेनालाई जिम्मेवारी दिइएको हो। पछि सञ्चालनको स्वरूप तय गरिनेछ,’ प्रवक्ता सुवेदीले भने।

उनका अनुसार हाल सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौंडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको छ।

सरकारले उद्योग पुनः सञ्चालन भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी तथा शिक्षक–शिक्षिकाले प्रयोग गर्ने पोशाक उत्पादन गर्ने लक्ष्य राखेको छ।

२०७५ सालमा गरिएको एक अध्ययनले उद्योग सञ्चालनका लागि करिब ३० करोड रुपैयाँ लगानी आवश्यक पर्ने सुझाव दिएको थियो।

सरकारले लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका विभिन्न उद्योग सञ्चालनका लागि प्रक्रिया अघि बढाइरहेको छ। यसअन्तर्गत जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग, हेटौंडा सिमेन्ट उद्योग, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना र नेपाल ओरिण्ड एन्ड म्याग्नेसाइटको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गर्ने निर्णय यसअघि नै गरिएको थियो।

सरकारले ती उद्योगको सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्ने वा नगर्ने विषयमा निर्णय लिन प्रक्रिया अघि बढाएको हो।

यो समाचार शेयर गर्नुहोस्
2.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?