काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ। चाडपर्वको समय र उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिको कात्तिक ३० गते बसेको बैठकले हाल कायम मूल्य नबढाउने निर्णय गरेको हो।
इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट कात्तिक २९ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार इन्धनको मूल्य समायोजन गर्नुपर्ने भए पनि निगमले उपभोक्तालाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले मूल्य यथावत राखेको जनाएको छ।
निगमका अनुसार हालकै मूल्य कायम राख्दा पाक्षिक रूपमा १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने अनुमान छ। मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेकाले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न कठिन भएको निगमको भनाइ छ।
निगमले सार्वजनिक गरेको मूल्यसूचीअनुसार पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
त्यस्तै, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ तथा तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर २०० रुपैयाँ मूल्य यथावत राखिएको छ।
उक्त मूल्य निगमका डिपो तथा कार्यालयबाट १५ किलोमिटरको दूरीसम्म लागू हुने निगमले जनाएको छ।


































