काठमाडौं । सरकारले कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउन ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ लागू गर्ने भएको छ। वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बीजक (बिल) लिने उपभोक्तालाई प्रोत्साहनस्वरूप उपहार प्रदान गर्ने व्यवस्था गरिएको हो।
अर्थ मन्त्रालयले जारी गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ अनुसार यो कार्यक्रम आन्तरिक राजस्व विभागमार्फत सञ्चालन हुनेछ। विभागले आवश्यकताअनुसार कार्यक्रम व्यवस्थापनका लागि इभेन्ट आयोजकसमेत छनोट गर्न सक्नेछ।
कार्यविधिअनुसार नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि एक पटकमा १०० रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्नेछन्। विद्युतीय भुक्तानीमार्फत गरिएको खरिद स्वतः कार्यक्रममा समावेश हुनेछ भने अन्य खरिदको हकमा उपभोक्ताले बीजक विवरण प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ।
कार्यक्रममा सहभागी हुन बीजक नम्बर, विक्रेताको स्थायी लेखा नम्बर (प्यान), बीजक जारी भएको मिति, कुल रकम, भुक्तानीको माध्यम, खरिदकर्ताको नाम र मोबाइल नम्बरलगायत विवरण आवश्यक पर्नेछ।
दैनिक र मासिक विजेता छनोट हुने
कार्यविधिअनुसार विभागले प्रत्येक महिनाको १ गते र १६ गते विजेता छनोट गर्नेछ। स्वचालित प्रणालीमार्फत सहभागीमध्ये दैनिक एक जना र मासिक रूपमा एक जना बम्पर विजेता चयन गरिनेछ।
दैनिक विजेताले १ लाख ३३ हजार ३३४ रुपैयाँ उपहार पाउनेछन् भने मासिक बम्पर विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्राप्त उपहार रकममा आयकर ऐन, २०५८ अनुसार आकस्मिक लाभबापत २५ प्रतिशत कर कट्टी गरिने व्यवस्था छ।
यी बीजक कार्यक्रममा समावेश हुने छैनन्
कार्यविधिले केही प्रकारका खरिदलाई उपहार कार्यक्रममा समावेश नगर्ने व्यवस्था गरेको छ। व्यावसायिक प्रयोजनका खरिद, सरकारी निकाय वा सार्वजनिक संस्थाको नाममा जारी बीजक, टेलिफोन, इन्टरनेट, विद्युत्, सवारी तथा ढुवानीका साधन र हवाई टिकट खरिदका बीजक मान्य हुने छैनन्।
त्यस्तै स्थायी लेखा नम्बर (प्यान) नलिएका व्यक्तिबाट खरिद गरिएको बीजक पनि कार्यक्रममा सहभागी हुन पाउने छैन।
विजेताले १५ दिनभित्र दाबी गर्नुपर्ने
उपहार जित्ने उपभोक्ताले घोषणा भएको मितिले १५ दिनभित्र नजिकको आन्तरिक राजस्व कार्यालयमा आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ।
उपभोक्ताले सक्कल बीजक, परिचयपत्रको प्रतिलिपि, बैंक खाताको विवरण र स्थायी लेखा नम्बर (प्यान) पेस गर्नुपर्नेछ। कागजात परीक्षणपछि विभागले १० दिनभित्र उपहार रकम उपलब्ध गराउनेछ।
समयभित्र उपहार दाबी नगर्ने विजेताको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने कार्यविधिमा उल्लेख छ।
अर्थ मन्त्रालयका अनुसार बीजक लिने संस्कृतिको विकास, वास्तविक कारोबारको अभिलेखीकरण वृद्धि र कर अनुपालन सुधार गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको हो। कार्यविधि तत्काल लागू हुने व्यवस्था गरिएको छ।

































