काठमाडौँ । चितवन जिल्ला अदालतमा साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे मुद्दा दर्ता भएको छ।
सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको छ । राईसँगै प्रतिवादीमा सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर छन्।
चितवन बहुउद्देश्यीय सहकारी संस्थाका ४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै उनीहरू विरुद्ध मुद्दा दायर गरिएको हो ।
अभियोग पत्रमा उल्लेख गरिए अनुसार साहारा सहकारीबाट गोरखा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड रुपैयाँ बराबर कारोबार कसरी को–कोसँग भएको हो, त्यसको विवरण माग गरिएकोमा उक्त विवरण प्राप्त नहुँदै अनुसन्धान प्रतिवेदन प्राप्त भएकाले उक्त कम्पनीको वर्तमान अवस्था, पदाधिकारी, सञ्चालक समिति लगायत बारे थप अनुसन्धान गर्नुपर्ने देखिन आएको उल्लेख गरिएको छ ।

































