काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निरन्तर बजार अनुगमन गर्ने बताएका छन् । मंगलवार नेपाल एलपी ग्याँस उद्योग संघको २८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री रिजालले दशैँ र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुगमन गर्ने बताएका हुन् ।
उनले सरकारको तर्फबाट यस अवस्थामा ग्याँस आपूर्तिको श्रृंखलालाई टुट्न नदिने बताए बताए । उनले २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न खनिज, उर्जालाई स्वच्छ एवं नवीकरणीय ऊर्जाले विस्थापित गर्ने नीति लिएको पनि उल्लेख गरे ।
उनले जीवाश्म इन्धनको प्रयोगलाई बिस्तारै घटाउँदै जानुपर्ने अवस्था आइसकेको बताए । तत्कालै देशभित्र नवीकरणीय र हरित उर्जाको पर्याप्त मात्रामा उत्पादन भई नसकेको वर्तमान अवस्थामा एलपी ग्याँस लगायत अन्य पेट्रोलियम इन्धनको आयातलाई तत्काल निषेध वा निरुत्साहित गर्न नसकिने उनले बताए ।
मन्त्री रिजालले उद्योगीहरुले व्यवसायिक निष्ठा कायम राख्दै ग्याँस उद्योग मर्यादित, व्यवस्थित र सुरक्षित उद्योगको रुपमा विकास गर्न आग्रह गरे ।


































