काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले नेपाल र बंगलादेशबीच भएको विद्युत् व्यापार सम्झौता ऐतिहासिक भएको बताएको छ । असोज १७ गते नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् बिक्री सम्झौता भएको थियो ।
सन् १९७१ देखि नेपाल र भारतबीच विद्युत आदानप्रदान भएकोमा सन् २०१४ मा २ देशबीच विद्युत् व्यापार सम्झौता (पीटीए) भई अल्पकालीन रुपमा विद्युत व्यापार हुँदै आएकोमा २०८० साल पुस १९ गते भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता भइसकेको पृष्ठभूमिमा बंगलादेशसँग भएको यो सम्झौताले नेपालको बिजुलीको बजार बंगलादेशलाई खुलेको इपानको विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै यो सम्झौताले २ देशबीच सरकार–सरकारसँगसँगै निजी–निजी क्षेत्रबीचमा ऊर्जा विकास र विस्तारका लागि सहकार्य, साझेदारी र लगानी आदानप्रदानका लागि बाटो पनि इपानले बताएको छ । बंगलादेश सरकारले सन् २०३९ भित्र नेपालबाट ९ हजार मेगावाट विद्युत् आयात गर्ने लक्ष्य राखेको छ भने नेपाल सरकारले आगामी १० बर्षभित्र ५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखेको छ । लक्ष्यलाई कार्यान्वयन गर्नका लागि नेपालको निजी क्षेत्र सधैं तयार रहेको पनि इपानने जनाएको छ ।
यो सम्झौतासँगै अब नेपाल विद्युत् प्राधिकरणले रोकिराखेको विद्युत खरिद सम्झौता (पीपीए) को पूर्ण रुपमा खुला गर्नु पर्ने पनि इपानले बताएको छ । भारत र बंगलादेशमा लक्ष्य अनुसारको निर्यातका लागि तत्काल नितीगत र प्रक्रियागत सुधारका लागि पनि इपानले सरकारसँग आग्रह गरेको छ ।
नेपालमा विद्युत उत्पादन भएको ११३ वर्ष पुगेको छ । हालसम्म करिब ३२०० मेगावाट विद्युत् उत्पादन क्षमता पुगेकोमा २५५० मेगावाट अर्थात ८० प्रतिशत निजी क्षेत्रबाट उत्पादन भईरहेको छ । हाल निजी क्षेत्रका ४ हजार मेगावाट बराबरका आयोजना निर्माणाधीन अवस्थामा छन् भने १४ हजार मेगावाट बराबरका आयोजना निर्माणमा जान लागेका छन् ।


































