काठमाडौँ । विद्युत् बिक्री सम्झौता विषय टुङ्गो लगाउन नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ आज बङ्गलादेश प्रस्थान गर्ने भएको छ।
विद्युत् बिक्री सम्झौताको मूल्य लगायतका मुख्य विषयलाई अन्तिम रूप दिनका लागि प्राधिकरण प्रमुख घिसिङ सहितको टोली त्यसतर्फ जान लागेको हो। प्राधिकरणले फेब्रुअरीको पहिलो साता नै विद्युत् बिक्रीका लागि प्रस्तावित मूल्यसहितको प्रपोजल पेश गरिसकेको छ ।
प्रतियुनिट ८ रुपैयाँ ९१ पैसामा बिजुली बेच्ने गरी प्राधिकरणले प्रस्ताव पेस गरेको हो पाँच वर्षसम्मको सम्झौता गरी नेपालले बङ्गलादेशतर्फ भारत हुँदै बिजुली निर्यात गर्न लागेको हो ।
प्राधिकरणले प्रस्तावित गरेको मूल्य बाहेक भारतीय प्रसारण लाइन प्रयोग गरे बापतको थप शुल्क बङ्गलादेशले तिर्नुपर्ने छ । त्यस कारण बङ्गलादेशले ८ रुपैयाँ २४ पैसा भन्दा महँगोमा बिजुली किन्दा लागत उच्च पर्ने बताउँदै आनाकानी गर्दै आइरहेको छ ।


































