काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाबाट असार ७ गते पारित गर्ने तयारी भएको छ ।
संघीय संसद् सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डर अनुसार असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ।
बजेटमाथिको सामान्य छलफल सकिएको छ। आज मंगलबारदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु हुँदै छ ।
मङ्गलवार चार वटा मन्त्रालयअन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ ।
जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन् ।
असार ७ गतेसम्म बजेटको शीर्षकगत छलफल चल्नेछ । सोही दिन बजेट पारित गर्ने संसदीय क्यालेन्डरमा उल्लेख छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए ।


































