काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा ११८.१३ प्रतिशतले वृद्धि भएको छ । साथै कम्पनीको कुल बीमा शुल्क, खुद नाफा सहित इपीएस पनि बढेको छ ।
अघिल्लो आर्थिक वर्षमा २२ करोड ५० लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले गत आवमा ४९ करोड आठ लाख रुपैयाँ मुनाफा कमाएको छ ।
कम्पनीले गत आवमा एक अर्ब ७१ करोड ८३ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवको यस अवधिमा एक अर्ब ५६ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको थियो । जुन ९.५८ प्रतिशतले वृद्धि भएको छ ।
यस अवधिमा कम्पनीले आफ्ना बीमितहरुलाई ४३ करोड २४ लाख रुपैयाँ कुल बीमा दावी भुक्तानी दिएको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६१ पैसाबाट बढेर ३४ रुपैयाँ ०५ पैसा पुगेको छ।
कम्पनीले यस अवधिमा कर्जा तथा लगानीबाट १३ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, कम्पनीले ७१ करोड चार लाख रुपैयाँ व्यवस्थापन तथा कर्मचारी तलव लगायतका विषयमा खर्च गरेको छ भने एक अर्ब ४४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ फण्डको आकार ३७ प्रतिशतले बढेर एक अर्ब ७६ करोड ९२ लाख रुपैयाँ कायम भएको छ।

































