काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सरकारी बैङ्कहरूको पुजीकरण गरेपछि व्यापक सुधार आएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैङ्कको ६० औँ वार्षिक साधारण सभामा बोल्दै गभर्नर अधिकारीले बैङ्किङ प्रणालीमा केही परिवर्तन गरेपछि वित्तीय क्षेत्रमै व्यापक सुधार आएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले भने,‘बैङ्कहरूको रिफर्म गर्दै जसरी हामीले क्यापिटलाइजेसन गर्यौ त्यसपछि बैकहरूमा व्यापक सुधार आएको छ । चाहे क्रेडिट कल्चरहरूको कुरा होस् या इन्डिभिजुअल कर्मचारीहरूको मानसिकताको कुरामा होस् ।
यस्तै उनले अहिले केही तथ्याङ्कहरूले यसलाई ब्रेक गर्न खोजिरहेको देखाएको भन्दै बैङ्कको जम्मा पुजी मा देखिरहेको कमीलाई पुरा गर्नको लागि राष्ट्र बैङ्क तयार रहेको र अर्थ मन्त्रालयसँग पनि सहयोगका लागि आग्रह गर्न तयार रहेको बताए ।
गभर्नर अधिकारीले बैङ्कलाई विश्वास गरेर सर्वसाधारणले जम्मा गरेको निक्षेपलाई डुब्न नदिने कुरा पनि स्पष्ट पारेका छन् ।
बैङ्कलाई विश्वास गरेर सर्वसाधारणले जम्मा गरेको जुन निक्षेप छ, त्यसलाई परिचालन गर्ने महत्त्वपूर्ण मध्यस्थकर्ता संस्थाको रूपमा तपाईँहरू हुनुहुन्छ । त्यसलाई परिचालन गर्न के कस्ता स्रोत साधनहरू चाहिन्छन्, हामी व्यवस्थापन गर्न सधैँ तयार छौँ । गभर्नर अधिकारीले भने ।
बैङ्किङ क्षेत्र आफैमा कति चुनौतीपूर्ण छ भन्ने कुरा सबैलाई थाहा भएको भन्दै, त्यस्ता हल्लाको पछाडि नलाग्न पनि सर्वसाधारणलाई गभर्नर अधिकारीले आग्रह गरेका छन् ।
‘बैङ्क वित्तीय संस्थाहरू चुनौतीमा छन् कि भनेर हल्ला तथा अफवाहहरू फैलाउन चाहिँदो नचाहिँदो कुराहरू सञ्जालमा राखिदिने र छोटो कुरा मिडिया गर्ने काम भइराखेको छन् । कुनै संस्थामा समस्या भयो भने त्यसको डेटा हामीसँग हुन्छ। त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने जिम्मेवारी पनि राष्ट्र बैङ्कको हो । राष्ट्र बैङ्कले रेगुलेटर गरेको कुनै पनि वित्तीय संस्थाको डिपोजिटलाई समस्यामा पर्न दिँदैनौँ ।’ उनले भने ।
कुनै पनि वित्तीय संस्थाको डिपोजिटलाई समस्यामा पर्न नदिने गरी स्रोत साधनहरू परिचालनका साथै निरीक्षण, सुपरिवेक्षण र नियमनको काम भइराखेको उनले बताए । बैङ्क वित्तीय संस्थाहरूमा उतारचढाव आइरहने भएकोले त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा नेपाल राष्ट्र बैङ्क एकदमै गम्भीर र सचेत भएकोले यसलाई स्वाभाविक रूपमा लिन पनि उनले आग्रह गरे ।
उनले भने, ‘हामीले प्रत्येक वित्तीय संस्थालाई नजिकबाट हेरिरहेका छौँ कोही कसैको स्ट्याटसहरू अलिकति तलमाथि भयो आर्थिक गतिविधि कम भएको बेला यो स्वाभाविक पनि हो । जसको व्यवस्थापनको लागि हामीसँग थुप्रै प्रोभिजनहरू पनि छन् । यस्तै नेट एनपीएलहरु हेर्नुभयो भने त्यति नराम्रो स्थिति छैन । त्यस कारण यस्ता कुराहरूबाट हामी एकदमै सजग र सचेत रहनु जरुरी छ ।’


































