काठमाडौं । विद्युत विकास विभागका नवनियुक्त महानिर्देशक जीवछ मण्डलले नेपालको सन्दर्भमा समृद्धिको पर्यावाची शब्द नै 'ऊर्जा' भएको बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का प्रतिनिधिहरुसँगको भेटमा महानिर्देशक मण्डलले ऊर्जामा लागेका व्यक्ति र देश सँगसँगै समृद्ध भएमा मात्रै यो क्षेत्र अनन्तकालसम्म सफल हुने पनि बताए । व्यक्ति मात्रै समृद्ध भएर देश समृद्ध नहुँदा कुनै पनि क्षेत्र जुनसुकै बेला पनि धरासायी हुन सक्ने भन्दै समृद्धि को सबैभन्दा ठूलो ढोका नै जलविद्युत् भएको उनको भनाई थियो ।
निजी क्षेत्रका सबै समस्याको वारेमा आफू जानकार रहेको बताउँदै मण्डलले ती समस्या समाधान गर्न सकिनेमा पनि विश्वास दिलाए ।
२०६३ सालसम्म १५० रुपैयाँमा जलविद्युत आयोजनाको लाइसेन्स दिएको स्मरण गर्दै मण्डलले लाइसेन्सका व्यवस्था नियमित संसोधन गर्न सकिने व्यवस्था नै भएको बताए । उनले विदेशी लगानीमा बुट मोडलमा आयोजना बनाउने कुरा आएपछि लाइसेन्सको अवधि ३५ वर्ष बनाइएको स्मरण गर्दै ऐनमा भएको व्यवस्थाले यसलाई ५० वर्षसम्म कायम गर्ने कुरामा आफूले पहल गर्ने बताए ।
नवनियुक्त महानिर्देशक मण्डललाई बधाई तथा शुभकामना दिंदै इप्पान अध्यक्ष गणेश कार्कीले १२ वर्षभित्र २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने हो भने निजी क्षेत्रका अफ्ठ्याराहरु फुकाउनु पर्ने, होइन भने २८ हजारको ठाउँमा २८ सय मेगावाट मात्रै विद्युत उत्पादन थपिन सक्ने बताए । ऊर्जा विकाससँग सम्बन्धित निकायले होस्टेमा हैसे गरिदिएमा निजी क्षेत्रले सरकारको लक्ष्य भेटाउनेमा पनि कार्कीले विश्वास व्यक्त गरे ।
त्यसका लागि सरकारले जलविद्युत आयोजनाको डिजाइन क्यू ४० बाट क्यू २५ मा ल्याउनुपर्ने, विद्युत ऐनमा भएको व्यवस्था बमोजिम नेपाली निजी क्षेत्रले बनाएका आयोजनाको अनुमतिपत्रको अवधि ५० वर्ष कायम गर्नुपर्ने, वित्तीय संकटले समयमा बन्न नसकेका आयोजनाको विद्युत उत्पादन गर्नुपर्ने मिति (आरसिओडी) २ वर्ष थप गर्नुपर्ने, वित्तीय व्यवस्थापनको लागि पनि २ वर्ष समय थप गर्नुपर्ने लगायतका विषयमा काम गर्नुपर्ने कार्कीले बताए ।
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले ऊर्जा क्षेत्रमा खासगरी विभागकै काममा २७ वर्षको अनुभव सहित विभागको २३ औं महानिर्देशक बनेका मण्डलले निजी क्षेत्रले सधैभरी सम्झनलायक निर्णय गर्नेमा आफू आशावादी रहेको बताए ।
इप्पानका कार्यसमिति सदस्य शंकर बश्यालले विभागले वातावरण प्रतिवेदनमाथिको छलफलमा प्रतिवेदनको १२ वटा ब्याण्डिङ कपी माग्ने गरेको भन्दै अहिलेको डिजिटल समयमा ई-कपी आदान प्रदानको व्यवस्था लागू गर्न आग्रह गरे ।
उक्त भेटमा इप्पानबाट अध्यक्ष गणेश कार्की, पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईं, वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगी, उपाध्यक्ष भरत खत्री, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल, सचिवहरु भरत नेपाल, विक्रम बिष्ट र कविता पोखरेल तथा सदस्यहरु शंकर बश्याल, सुमन जोशी, सुसन कर्माचार्य, सल्लाहकार पुष्पज्योति ढुंगाना लगायतको सहभागिता रहेको थियो ।

































