काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई विद्युत् उत्पादनमा मात्रै सीमित नराखी प्रसारण, वितरण र विद्युत् व्यापारसम्म सक्रिय सहभागिता गराउने व्यवस्था गर्न माग गरेको छ । यसका लागि हालको कानुनी संरचनालाई प्रतिस्थापन गर्ने गरी नयाँ विद्युत् विधेयक ल्याउनुपर्ने इप्पानको जोड छ ।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग भेट गरी ऊर्जा क्षेत्रमा आवश्यक नीतिगत तथा कानुनी सुधारका विषयमा ध्यानाकर्षण गराएको हो।
भेटका क्रममा इप्पानले ३० हजार मेगावाट विद्युत् उत्पादनको राष्ट्रिय लक्ष्य पूरा गर्न तीन दशक पुरानो विद्युत् ऐन, २०४९ लाई समयअनुकूल बनाउँदै नयाँ कानुन आवश्यक रहेको बताएको छ।
इप्पानले प्रसारण लाइन निर्माण र विद्युत् व्यापारमा निजी क्षेत्रको कानुनी सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। वन तथा वातावरण, जग्गा प्राप्ति र संघ, प्रदेश तथा स्थानीय तहबीचको अधिकार क्षेत्र स्पष्ट पार्दै आयोजना कार्यान्वयनलाई सहज बनाउन एकद्वार प्रणाली लागू गर्नुपर्ने मागसमेत गरिएको छ।
ऊर्जा आयोजनाको सुरक्षा र निजी लगानीको संरक्षणका लागि स्पष्ट तथा लगानीमैत्री व्यवस्था आवश्यक रहेको इप्पानको भनाइ छ।
भेटमा रास्वपा अध्यक्ष लामिछानेले निजी क्षेत्रको लगानी संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताउँदै प्रसारण लाइन र विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता अब समयको माग बनेको धारणा राखेका थिए।


































