काठमाडौं । नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको विद्युत् विकास विभागले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विभागले जलविद्युत् आयोजना, प्रसारण लाइनको अनुमति प्रदान गर्दै आएको छ ।
विभागले जलविद्युततर्फ ७ वटा आयोजनाको उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्रदान गरेको छ । ती आयोजनाको कुल क्षमता ६९.२ मेगावाट रहेको छ ।
जलविद्युतर्फत चैनपुर सेती जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र जारी गरिको छ । सो आयोजनाको कुल क्षमता २१० रहेको छ । यस्तै, अन्य १२ वटा आयोजनालाई पनि उत्पादन अनुमतिपत्र प्रदान गरिएको छ । ती आयोजनाको क्षमता ३५३.२ मेगावाट छ ।
सौर्य ऊर्जातर्फ २ आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको र तिनको कुल क्षमता १७.३ मेगावाट रहेको जनाइएको छ । यसबीचमा विभागले ३७०.५ मेगावाट क्षमता बराबरका कुल १४ वटा आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र जारी गरेको छ ।
प्रसारण लाइनतर्फ ३३ केभी क्षमताको ५६.४५ सर्किट किलोमिटर, १३२ केभी क्षमताको २१०.९५ सर्किट किलोमिटर, २२० केभी क्षमताको १२५.१ सर्किट किलोमिटर, ४ सय केभी क्षमताको २९.३७ सर्किट किलोमिटर गरी कुल २२ वटा विद्युत् प्रसारणको सर्वेक्षण अनुमतिपत्रसमेत जारी गरिएको महानिर्देशक सिंहले जानकारी दिए । रासस


































