काठमाडौं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो १० वर्षमा स्वास्थ्य तथा शिक्षाजस्ता आधारभुत क्षेत्रमा बजेट घटेको बताएका छन् । काठमाडौंमा बिहीवार आयोजित कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रमा बजेट कटौती हुनु राम्रो नभएको बताएका छन् ।
देशको समग्र राजश्व संरचनामा वृद्धि भएपनि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा बजेट घटेको उनको भनाई छ । स्वास्थ्य क्षेत्रमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा सरकारी संयन्त्र बीच आवश्यक सहकार्य नभएको कारण बजेट घटेको हुनसक्ने बताए ।
यसलाई एकैपटकमा सुधार गर्न नसकिने उनको भनाई छ । उनले स्वास्थ्य बीमा भुक्तानीको जिम्मेवारी सरकारले लिनुपर्ने पनि बताए । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बाँकी रहेको भुक्तानी गर्नुपर्ने पक्षमा आफू रहेको उनको भनाई छ ।
स्वास्थ्यमन्त्रीलाई सबै भुक्तानी छिटो पूरा गर्ने प्रक्रियाका लागि आग्रह गरेको जानकारी दिए । विगतको सरकारले रोक्यो भनेर अहिलेको सरकारले रोक्न नमिल्ने उनको भनाई छ । उनले स्वास्थ्य बीमा आवश्यक छ वा छैन भन्ने विषयमा भने पुनर्विचार गर्नुपर्नेमा जोड दिए । राज्यले धान्न नसक्ने संरचना राख्न नहुने उनको भनाई रहेकोछ ।
उनले स्वास्थ्य संस्थालाई पर्याप्त वित्तीय पहुँच पुर्याउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘फाईनान्समा गभरमेन्टको पर्समा, हाम्रो पर्सको साईज अवश्य बढेको छ, आजभन्दा १५ वर्ष अगाडी टोटल जिडिपीको १३ प्रतिशत पुर्याउन पनि हामीलाई गाह्रो थियो । अहिले टोटल जिडिपीको २३ प्रतिशत नजिकसम्म हाम्रो रेभिन्युवेश चाहीँ पुग्यो, अहिले झरेर १८–१९ प्रतिशत पुगेको छ । गभर्मेन्टको रिसोर्सको साईज बढ्दै जाने तर हेल्थमा, एजुकेसनमा गरिएको एलिकेशन घट्दै जानु राम्रो होइन । त्यो कमजोरी अर्थमन्त्रालयले गर्याे अथवा राष्ट्रिय योजनाले गर्याे अथवा प्रणालीमा हामीले सहकार्य गरेर गर्न सकेनौँ ।’
‘त्यो हाम्रो गल्ती भयो पछिल्लो १० वर्षमा । अब यो एकै वर्षमा एकैछिनमा करेक्शन गर्न सकिँदैन । स्वास्थ्यमन्त्री यहीँ हुनुहुन्छ, उहाँलाई मैले स्वास्थ्यमन्त्रीमा बहाली भएको दिनमा नै स्वास्थ्य बीमाको सबै भुक्तानी गरौँ भनेर उहाले सुन्नु भएन उहाँ आउनुभन्दा अगाडी नै मैले स्वास्थ्यसचिवज्युलाई प्रत्येक पटक भेट्दा त्यो सबै भुक्तानी गर्न आग्रह गरेँ । सरकारले प्रतिवद्धता गरेको स्वास्थ्य बीमाको बाँकी रहेको रकम चाहीँ भुक्तानी गर्नुपर्छ । सरकार भनेको निरन्तरता हो ।’
‘अगाडीको सरकारले बाँकी राख्यो म तिर्न सक्दिन भनेर भन्न हुँदैन तिर्न पर्छ भनेर मैले भनिरहेको छु, आज नी त्यही भन्दैछु । तर हामीले धान्न नसकिने प्रमिस गरेर त्यसपछि स्वास्थ्यसंस्थाहरु चाहीँ पैसा नपाएको कारणले सेवा नै दिन नसक्ने आबस्थामा पुगे भने त्यो पनि राम्रो भएन । स्वास्थ्य संस्थाले सेवा दिनसक्ने गरी उनीहरुलाई वित्तीय पहुँच पुर्याउनुपर्छ । त्यो वित्तीय पहुँच पुर्याउने क्रममा हाम्रो स्वास्थ्य बीमा ज्यादै कमजोर छ, हामीले धान्न नसकिने किसिमको छ भने त्यसलाई रिभ्यु गर्नुपर्छ’ उनले भने ।
उनले अर्थमन्त्रालयले बिना कारण स्वास्थ्य क्षेत्रको बजेट काट्न नमिल्ने जानकारी गराउँदै माग्ने बित्तिकै बजेट नपाइने उल्लेख समेत गरका छन् । उनले राष्ट्रको स्रोत सदुपयोग गर्न सबैले ध्यान दिनुपर्ने बताए ।


































