काठमाडौं । वैदेशिक रोजगारमा अनियमितता बढ्दै गएपछि वैदेशिक रोजगार विभागले नियमविपरीत काम गर्ने म्यानपावर कम्पनीहरूमाथि निगरानी कडा बनाउँदै कारबाही सुरु गरेको छ। पहिलो चरणमै १५९ संस्थालाई चेतावनी दिइएको छ।
विभागका अनुसार पूर्वस्वीकृति नलिई भारतीय विमानस्थलमार्फत श्रमिक विदेश पठाउनु वैदेशिक रोजगार ऐन, २०६४ विपरीत हो। सोही आधारमा अनुगमनपछि सम्बन्धित संस्थाहरूलाई सचेत गराइएको हो।
गत चैतदेखि जेठ मसान्तसम्म विदेश गएका श्रमिकको उडान विवरण संकलन गरी गरिएको अध्ययनमा १,११७ इजाजतप्राप्त संस्थामध्ये ६७८ संस्थाले मात्र विवरण बुझाएका थिए। बाँकी ४३९ संस्थाले विवरण नबुझाएको पाइएपछि उनीहरूलाई पनि कानुनी प्रावधान उल्लंघन गरेको भन्दै चेतावनी दिइएको छ।
त्यसैगरी, नियम उल्लंघन दोहोर्याउने आठ संस्थामाथि जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। तीमध्ये केहीले पुनः भारतीय विमानस्थलमार्फत श्रमिक पठाएको र केहीले आवश्यक विवरण नबुझाएको पाइएको विभागले जनाएको छ।
विभागले सबै व्यवसायीलाई कानुन र निर्देशनको पालना गर्न आग्रह गर्दै भविष्यमा यस्ता गतिविधि दोहोरिए कडा कारबाही गरिने चेतावनी दिएको छ।

































