काठमाडौँ । ऊर्जा‚जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको पुनः दोहोराएका छन् ।
राष्ट्रियसभाको बुधवारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले नेपालमा लोडसेडिङको अन्त्य भारत र निजी क्षेत्रले गरेको जिकिर गर्दै पटक पटक घिसिङको नाम लिनु उपयुक्त नहुने बताएका छन् ।
यस अगाडि समेत सोही कुरा बोल्दै आएका मन्त्री खड्काले कार्यकारी निर्देशक घिसिङ उद्योगको लाइन काटेर घरमा विद्युत दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको मन्त्री खड्कको आरोप छ।
उनले सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट विद्युत मात्र उत्पादन गरिरहेको उल्लेख गरे।
‘सरकारको शतप्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ। २८०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरेको छ। आज पनि विद्युत आपूर्ति हुन सकेको छैन‚ हिजो पनि लोडसेडिङ थियो, आज पनि छ‚’ उनले भने, ‘
हिजो पनि उद्योगधन्दातिर बत्ति कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ। अहिले पनि ८२५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ। अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ। त्यसकारण उज्यालोको नायक भनेको उहाँ होइन है। बरु यो धन्यवाद भारतलाई दिऊँ निजी क्षेत्रलाई दिऊँ।’ मन्त्री खड्काले भने
मन्त्री खड्काले प्राधिकरण नाफा गएको भने पनि महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा २ खर्ब रुपैयाँभन्दा बढी घाटा देखिएको समेत बताएका छन् ।

































