National life

बाढी र पहिरोले विद्युत् उत्पादनदेखि प्रसारण तथा वितरण प्रणालीसम्म गम्भीर असर

विद्युत् प्रणालीमा बाढीको असर : १ हजार मेगावाट उत्पादन प्रभावित, चार जिल्ला अन्धकारमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१२ असोज २०८३, सोमबार
375Shares
बाढी र पहिरोले विद्युत् उत्पादनदेखि प्रसारण तथा वितरण प्रणालीसम्म गम्भीर असर
ncell

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोले नेपालको विद्युत् उत्पादनदेखि प्रसारण तथा वितरण प्रणालीसम्म गम्भीर असर पुर्‍याएको छ । असोज ८ गतेदेखि परेको वर्षाका कारण गण्डकी प्रदेशमा मात्रै २७ वटा जलविद्युत् केन्द्रको उत्पादन रोकिँदा करिब १ हजार मेगावाट विद्युत् प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार कतिपय स्थानमा प्रसारण लाइनका संरचना क्षतिग्रस्त भएका छन् भने नदीमा पानीको बहाव अत्यधिक बढेपछि सुरक्षाका लागि केही जलविद्युत् आयोजना बन्द गर्नुपरेको छ ।

कालीगण्डकी करिडोरमा ठूलो क्षति

बाढीको सबैभन्दा ठूलो असर २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइनमा परेको छ ।

Royal Enfield
nic asia capital
प्रसारण लाइन अवरुद्ध भएपछि त्यसबाट विद्युत् प्रवाह हुने १३ वटा आयोजनाको करिब ३५८ मेगावाट उत्पादन रोकिएको छ ।

म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा प्रसारण लाइनका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्राधिकरणले जनाएको छ । कुश्मा–नयाँ बुटवल खण्डमा पनि समस्या देखिएको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार क्षतिग्रस्त प्रसारण लाइन मर्मत गर्न केही दिन लाग्न सक्छ । सम्भावित क्षति भएका अन्य क्षेत्रको निरीक्षण तथा मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको उनले बताए ।

उच्च बहावका कारण थप १४ आयोजना बन्द

प्रसारण लाइनको समस्यासँगै नदीमा पानीको बहाव अस्वाभाविक रूपमा बढेपछि सुरक्षाका लागि थप १४ वटा जलविद्युत् आयोजना बन्द गरिएको छ । म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँमा रहेका ती आयोजनाको कुल उत्पादन क्षमता करिब ६३० मेगावाट रहेको प्राधिकरणले जनाएको छ ।

कालीगण्डकी, माथिल्लो मादी, सुपर मादी, नामार्जुन मादी, सेती नदी, अप्पर दोर्दी, माथिल्लो मर्स्याङ्दी, मध्य मर्स्याङ्दी, मर्स्याङ्दी र मोदीलगायत आयोजनाको उत्पादन उच्च नदी बहावका कारण रोकिएको छ ।

प्रसारण लाइनमा आएको अवरोध र आयोजनाको सुरक्षाका लागि गरिएको उत्पादन बन्दका कारण गण्डकी क्षेत्रमा मात्रै करिब १ हजार मेगावाट विद्युत् उत्पादन प्रभावित भएको हो ।

राहुघाटको स्विचयार्डमा पनि क्षति

कालीगण्डकी नदीमा आएको बाढीले केही दिनअघि मात्रै उत्पादन सुरु गरेको राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डमा समेत क्षति पुर्‍याएको छ ।

उत्पादन सुरु भएको छोटो समयमै प्राकृतिक विपद्का कारण आयोजनाको संरचनामा क्षति पुग्दा जलविद्युत् आयोजनाको जोखिम व्यवस्थापन तथा पूर्वाधार सुरक्षाको चुनौती थपिएको छ ।

प्रसारणसँगै वितरण संरचनामा क्षति

बाढी र पहिरोले उत्पादन केन्द्रमा मात्रै नभई विद्युत् प्रसारण तथा वितरणका संरचनामा समेत क्षति पुर्‍याएको छ । २२० केभी र १३२ केभीका प्रसारण संरचनाका साथै ३३ केभी र ११ केभीका वितरण लाइन तथा संरचनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

क्षतिका कारण मनाङ, मुस्ताङ, म्याग्दी र बागलुङ पूर्ण रूपमा विद्युत्विहीन भएका छन् । प्युठान, रुकुम पूर्व र रोल्पाका विभिन्न क्षेत्रमा पनि विद्युत् सेवा प्रभावित भएको छ ।

प्राधिकरणले क्षतिको विवरण संकलन तथा मूल्यांकन गरी विद्युत् आपूर्ति पुनःस्थापनाका लागि प्राविधिक टोली परिचालन गरेको जनाएको छ ।

गण्डकीबाहेक अन्य प्रदेशमा पनि असर

बाढीको प्रभाव गण्डकी प्रदेशमा मात्रै सीमित छैन । लुम्बिनी, मधेश र कर्णाली प्रदेशका विभिन्न प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

मधेश प्रादेशिक कार्यालयअन्तर्गतका क्षेत्रमा डुबानका कारण ७८ वटा विद्युत् पोल ढलेका छन् भने १४ वटा वितरण ट्रान्सफर्मरमा क्षति पुगेको छ ।

बाढीपछि विद्युत् क्षेत्रमा अहिले एकैपटक दुई प्रमुख चुनौती देखिएका छन् । एकातर्फ प्रसारण तथा वितरण संरचना क्षतिग्रस्त हुँदा विद्युत् आपूर्ति प्रभावित भएको छ भने अर्कोतर्फ नदीमा पानीको बहाव बढेका कारण सुरक्षाका लागि जलविद्युत् आयोजनाको उत्पादन रोक्नुपरेको छ ।

प्राधिकरणले जोखिममा रहेका आयोजना र विद्युतीय उपकरणको सुरक्षालाई प्राथमिकता दिँदै आवश्यक स्थानमा उत्पादन बन्द गरेको जनाएको छ । क्षतिग्रस्त संरचनाको मर्मतसँगै विद्युत् आपूर्ति क्रमशः पुनःस्थापित गर्ने काम भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
375SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?