काठमाडौं । पाथीभरा क्षेत्र विकास समितिले करिब ७ करोड रुपैयाँ बराबरको सुनचाँदी बिक्री गर्ने भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका ४ स्थित पाथीभरा क्षेत्र विकास समितिले ६ करोड ९७ लाख ८७ हजार ७४४ रुपैयाँ बराबरको सुनचाँदी लिलामीमा बिक्री गर्ने भएको हो ।
समितिका अनुसार प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँका दरले १७८ तोला ८२ लाल सुन बिक्रीमा राखिएको छ । जस अनुसार ४ करोड ७२ लाख ४४ हजार २४४ रुपैयाँको सुन बिक्रीमा राखिएको हो ।
यस्तै, प्रतितोला ४ हजार २५५ रुपैयाँका दरले ५ हजार २९८.१२ तोला चाँदी बिक्रीमा राखिएको छ। सो आधारमा सिमतिले २ करोड २५ लाख ४३ हजार ५ सय रुपैयाँको चाँदी बिक्री गर्ने भएको हो। सुन तथा चाँदी जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा बिक्री गरिने भएकाले पुस २९ गतेभित्र उक्त सुनचाँदी खरिद गर्न इच्छुकले सिलबन्दी बोलपत्र पेस गर्नुपर्ने समितिले जनाएको छ।
बोलपत्र साथ कबोल गरेको कुल रकमको १० प्रतिशतले हुन आउने रकम पाथीभरा क्षेत्र विकास समितिको बैंक खतामा धरौटी रकम जम्मा गर्नुपर्नेछ । बोलपत्र स्वीकृत भएको जानकारी ३ दिनभित्र सम्झौता गर्नुपर्नेछ । अन्यथा बोलपत्र रद्द गरी धरौटी बापत जम्मा गरेको रकम जफत गरिने समितिले जनाएको छ ।






































