काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य दुई साताकै उच्च विन्दुमा पुगेको छ। टेक्निकल बाइङ बढ्नुका साथै मध्यपूर्वमा बढ्दो तनाव र अमेरिकी फेडरल रिजर्भको आगामी बैठकबाट ब्याजदर सम्बन्धी संकेतको प्रतीक्षाले सुनको माग उकालो लागेको हो ।
यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनकाृ मूल्य १.४१ प्रतिशत अर्थात ५७ डलरले बढ्दै प्रतिऔंस ४ हजार १३१ डलर कायम भएको छ ।
पछिल्लो समय आएको गिरावटपछि लगानीकर्ताले सुनलाई आकर्षक अवसरका रूपमा हेर्दै पुनः खरिद बढाएका छन्। मध्यपूर्वमा जारी तनावबीच कूटनीतिक समाधानको सम्भावनाले पनि बजारमा केही सकारात्मक प्रभाव पारेको छ।
यसैबीच, मध्यपूर्वको द्वन्द्वले तेल बजारमा पनि दबाब बढाएको छ। यमनस्थित इरान समर्थित हुथी समूहबाट आएको धम्कीपछि साउदी अरबबाट एसियातर्फ जाँदै गरेका तीनवटा कच्चा तेल बोकेका ट्यांकरले रेड सी क्षेत्रमा आफ्नो मार्ग परिवर्तन गरेका छन्। यसले विश्वका महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गमा जोखिम बढाएको छ।
तेलको मूल्य वृद्धिले मुद्रास्फीतिको चिन्ता बढाएको छ, जसले अमेरिकी ब्याजदर लामो समयसम्म उच्च रहन सक्ने अनुमानलाई बल दिएको छ। उच्च ब्याजदरले ब्याज नदिने सम्पत्ति मानिने सुनमा दबाब सिर्जना गर्ने भए पनि पछिल्लो मूल्य गिरावटपछि खरिदकर्ताको सक्रियताले बजारलाई समर्थन गरेको छ।
अमेरिकी फेडरल रिजर्भले आगामी बैठकमा ब्याजदर सम्बन्धी निर्णय गर्नेछ।
अन्य बहुमूल्य धातुमा पनि वृद्धि देखिएको छ। चाँदीको मूल्य १.९ प्रतिशतले बढेर प्रतिऔंस ५९ डलर पुगेको छ भने प्लेटिनम २.४ प्रतिशत र प्यालेडियम ३ प्रतिशतले उकालो लागेको छ ।


































