काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० लाख ५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ ।
महासंघले व्यवसायीबाट स्वेच्छिक रूपमा संकलन गरेको रकम एकद्वार प्रणालीमार्फत सरकारको उद्धार कोषमा जम्मा गर्ने निर्णयअनुसार सहयोग हस्तान्तरण गरेको हो ।
भदौ १० गते आएको बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट देशका विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले महासंघले व्यवसायीबाट रकम संकलन गरेको जनाएको छ ।
महासंघका संघ, प्रदेश समन्वय तथा राहत संकलन समितिका संयोजक एवं महासचिव निरबहादुर विश्वकर्माको नेतृत्वमा गएको टोलीले सिटिजन्स बैंक इन्टरनेशनलको चेकमार्फत उक्त रकम अर्थमन्त्री डा.
सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्मा, सचिव केशरबहादुर विश्वकर्मा, कोषाध्यक्ष गणेशप्रसाद विश्वकर्मा, कार्यसमिति सदस्य त्रिलोचन विश्वकर्मा तथा कार्यालय प्रमुख राम महर्जनलगायतको उपस्थिति थियो । कार्यक्रममा रत्न व्यवसायी संघ नेपालका अध्यक्ष कृष्ण हमाल र नेपाल सुनचाँदी राष्ट्रिय व्यवसायी मञ्चका अध्यक्ष खेम तिरुवासमेत सहभागी थिए ।
महासंघले संकलित बाँकी रकममा आफ्नै कोषबाट समेत थप गरी सुनचाँदी, रत्न तथा आभूषण व्यवसायसँग सम्बन्धित विपद् प्रभावित व्यवसायी, कालिगढ तथा पीडित परिवारलाई प्रत्यक्ष राहत उपलब्ध गराउने जनाएको छ ।
राहत वितरण गर्दा प्रभावितको अवस्था र आवश्यकतालाई आधार बनाइने महासंघले जनाएको छ ।
महासंघले राहत तथा उद्धार कार्यमा सहयोग गर्ने व्यवसायी, पदाधिकारी, कार्यसमिति सदस्य, प्रदेश महासंघ तथा आबद्ध सदस्य संघप्रति आभार व्यक्त गरेको छ ।
साथै, आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग, राहत तथा पुनःस्थापनामा सामाजिक उत्तरदायित्वअनुसार सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता महासंघले जनाएको छ ।




































