काठमाडौं । गत असोज ११ गते र १२ गते देशभर अविरल वर्षासँगैको आएको बाढी–पहिरो र डुबानमा धेरै जनधनको क्षति भएपछि सरकारले यस्तो वेलामा आफु एक्लैले काम गर्न नसक्ने भन्दै राहत तथा उद्धारका कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरी सहयोग गर्न आह्वान गरेको थियो ।
सोही बमोजिम विभिन्न संघसंस्थाहरू निरन्तर सहयोग गरिरहेका छन् । पछिल्लो तथ्याङ्कअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ५७ करोड ९७ लाख ७३ हजार रुपैयाँ जम्मा भएको छ । जसमा विभिन्न बैंक तथा बित्तीय संस्था संगै अन्य संघ संस्थाहरुले पनि राहत तथा उद्धारका लागि रकम सहयोग गरेका छन् ।
कसले कति रकम जम्मा गरे त प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ?
सिटिजन्स बैंकले बाढी पहिरो पीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले अविरल वर्षाको कारण निम्तिएको विपत्तिको राहतस्वरूप बैंकले २५ लाख रुपैयाँ असोज १४ गते कोषमा जम्मा गरेको हो ।
मेटलाइफ नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५ लाख रुपैयाँको सहयोग गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरो र डुबानबाट प्रभावित तथा पीडितका लागि २ करोड रुपैंयाँ सहयोग प्रदान गरेको छ । उक्त रकम असोज १५ गते जम्मा भएको कोषले जनाएको छ ।
कृषि विकास बैंकले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभरि आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि बैंकले प्रधानमन्त्री ओलीलाई चेकमार्फत उक्त रकम हस्तान्तरण गरेको हो ।
नेपाल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ सहयोग गरेको छ ।
प्राइम कमर्सियल बैंकले बाढीपहिरो पीडितका लागि ३१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । असोज ११ गते शुक्रबार र १२ गते शनिबार अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण भएको जनधनको अपूरणीय क्षतिको अकल्पनीय घटनाप्रति दुःख व्यक्त गर्दै बैंकले सहयोगको घोषणा गरेको हो ।
नेपाल एसबिआई बैंकले पहिरो र बाढीबाट प्रभावितलाई राहत स्वरूप प्रधानमन्त्री विपद् राहत कोषमा २५ लाख रूपैयाँ योगदान गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी चेक हस्तान्तरण गरेका हुन् ।
एनएमबी बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ बराबरको रकम सहयोग गरेको छ ।
आइएमई ग्रुपले हालै आएको बाढी, पहिरो र विपदमा सहयोग पुर्याउन ५ करोड रुपैयाँ रकम सहयोग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ग्लोबल आइएमई बैंक, आइएमई ग्रुप र आबद्ध कम्पनीका तर्फबाट ५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
प्रभु समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रुपैयाँ बराबरको रकम सहयोग स्वरूप प्रदान गरेको छ । प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रधानमन्त्री ओलीलाई १ करोड ७५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री ओलीलाई कोष सञ्चालक समितिका अध्यक्ष सूर्यबहादुर थापा र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
निर्माण व्यवसायी विकास परिषद्
नेपाल निर्माण व्यवसायी विकास परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । परिषद्का अध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेकमार्फत सो रकम हस्तान्तरण गरेका हुन् ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले १ करोड रूपैयाँ सहयोग गरेको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा.बद्री केसीले पहिलो चरणमा बाढीपीडितका लागि १ करोड रूपैयाँ सहयोग गरेको जनाएका हुन् ।
भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । उनले प्रधानमन्त्री ओलीमार्फत उक्त सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गरेका हुन् । उक्त रकम असोज १५ गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
यस्तै, नेपाल इन्स्योरेन्सले ५० लाख, मेटलाइफ इन्स्योरेन्सले २५ लाख र ओरिएन्टल इन्स्योरेन्सले २५ लाख रुपैयाँ सहयोग गरेका छन् । यता नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५०–५० लाख रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेट गरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।