काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि १ करोड ३८ लाख ९९ हजार ४ सय २५ रुपैयाँ सहयोग गरेका छन्।
राष्ट्र बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
राष्ट्र बैंकका अनुसार भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारको सहयोगका लागि बैंकका पदाधिकारी तथा कर्मचारीबाट उक्त रकम संकलन गरिएको हो।
बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ।
राष्ट्र बैंकले भदौ २२ गते जारी गरेको विज्ञप्तिमार्फत उक्त रकम कोषमा जम्मा गरिएको जानकारी दिएको हो।
































