काठमाडौँ । अधिक तरलता थपिने क्रम नरोकिएपछि नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट आज फेरि ५० अर्ब तरलता खिच्ने भएको छ ।
अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट आज उक्त रकम खिच्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल गरिने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिच्दै आएको छ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। यो २१ दिने निक्षेप संकलन उपकरणको मङ्सिर १९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।


































