काठमाडौं । लगातारको वर्षा र हावाहुरीका कारण अप्टिकल फाइबरमा क्षति तथा विद्युत् आपूर्तिमा अवरोध हुँदा नेपाल टेलिकमको दूरसञ्चार सेवा देशका विभिन्न स्थानमा प्रभावित भएको छ।
नेपाल टेलिकमका अनुसार असोज ८ गतेदेखि परेको निरन्तर वर्षा, बाढी तथा पहिरोका कारण केही क्षेत्रमा सेवा अवरुद्ध भएको हो।
भारी वर्षा तथा पहिरोका कारण प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्नसमेत कठिनाइ भइरहेको कम्पनीले जनाएको छ। त्यसैगरी, हिमपात, वर्षा तथा बाक्लो बादलका कारण सोलार साइटको प्रभावकारिता घट्दा पनि सेवा सञ्चालनमा समस्या देखिएको टेलिकमको भनाइ छ।
सिस्टमबाट प्राविधिक रूपमा गर्न सकिने मर्मतसम्भारका काम भने जारी रहेको र सम्भव भएका स्थानमा सेवाको मर्मत भइरहेको कम्पनीले जनाएको छ।
मौसममा सुधार आएपछि प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको टेलिकमले जनाएको छ।
सेवा अवरुद्ध हुँदा ग्राहकमा परेको असुविधाप्रति नेपाल टेलिकमले क्षमायाचना गर्दै कठिन परिस्थितिमा पनि धैर्यता देखाएकोमा ग्राहकप्रति आभार व्यक्त गरेको छ।





























