काठमाडौँ । आज वैशाख २३ गते मङ्गलवारका दिन पूर्वी तराईका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ। मोरङ, सप्तरी, सिराहा, उदयपुर, धनुषा, सर्लाही, बारा, सिन्धुलीलगायतका ठाउँमा मेघगर्जन र चट्याङसहित पानी परेको हो।
दिउँसो पख भने काठमाडौँ उपत्यकासहित देशका अरू ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायुसँगै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावका कारण केही दिनदेखि देशैभर पानी पार्ने प्रणाली सक्रिय भएको जनाएको छ ।
प्रि–मनसुनको समय पनि भएकाले अझै केही दिन देशभर चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

































