काठमाडौं । गुगल सर्चमा छुट्टै एआई मोड आउने भएको छ । गुगल सर्चमा एआईकै जवाफ चाहने प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यस्तो फिचर ल्याउन लागेको हो ।
यसका लागि गुगलले छुट्टै इन्टरफेस ल्याउन लागेको छ, जुन जेमिनाई एआईसँग मिल्दोजुल्दो हुनेछ । बाहिरिएका रिपोर्ट अनुसार गुगलमा केही सर्च गरिसकेपछि आउने रिजल्टसँगै एआई मोडको अप्सन पनि देखिनेछ ।
एआई मोडबाट प्राप्त रिजल्टको स्रोत पनि त्यसैमा देखिनेछ । उक्त रिजल्ट चित्त नबुझेको अवस्थामा थप प्रम्प्ट राखेर प्रश्न सोध्न सकिनेछ ।
यद्यपि यो फिचर वैकल्पिक हुनेछ, अर्थात् प्रयोगकर्तासँग यसलाई सक्रिय बनाउने वा निस्क्रिय बनाउने विकल्प हुनेछ । उसो त गुगल सर्चमा एआई ओभरभ्यू नामक फिचर पहिलेदेखि नै रहेको छ । एआई मोडचाहिँ त्यो भन्दा फरक हुनेछ ।
गुगलको च्याट बट जेमिनाइका प्रयोगकर्ताको संख्या ओपन एआईको च्याट जिपिटीको भन्दा निकै कम छ । बिजनेस अफ एप्सका अनुसार गत अक्टोरबमा जेमिनाइका सक्रिय प्रयोगकर्ताको संख्या ४ करोड २० लाख थियो। सोही महिनाको सुरुमा ओपन एआईका सीईओ साम अल्टम्यानले च्याटजिपिटीका साप्ताहिक सक्रिय प्रयोगकर्ता ३० करोड भएको बताएका थिए ।
आफ्नो च्याटबट प्रतिस्पर्धी च्याट जिपिटीभन्दा पछि परेपछि गुगलले सर्च इन्जिनको माध्यमबाट आफ्ना अर्बौं प्रयोगकर्तामाझ जेमिनाईलाई परिचित गराउने योजना बनाइरहेको छ ।


































