काठमाडौँ । प्राधिकरणले विद्युत् काटिएका उद्योगहरूको लाइन निःशर्त जडानको माग सहित रुपन्देहीका उद्योगीहरू आन्दोलनमा उत्रिएका छन् ।
उद्योग बन्द गरेर उनीहरूले नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्र अगाडि धर्ना दिइरहेका छन्। उद्योगीहरूले लाइन काटिएका उद्योगको विद्युत् लाइन जडान नगरिएसम्म सिद्धार्थ राजमार्ग कोरिडोरमा सञ्चालित उद्योगहरू संयुक्त रूपमा बन्द गरी विरोध सुरु गरेको बताएका छन् ।
बुटवल–भैरहवा औद्योगिक सिद्धार्थ राजमार्ग कोरिडोरमा सञ्चालित १९ वटा उद्योगहरूको नेपाल विद्युत् प्राधिकरण भैरहवा तथा नयाँ मिल वितरण केन्द्रले जबरजस्ती न्यायसम्मत नरहेको ट्रक लाइनको छुट बिलिङ गरेकाले कानुनसम्मत नरहेको ‘छुट बिल’ को विरुद्ध कानुनी बाटो अवलम्बन गरिएको उद्योगीको दाबी रहेको छ ।
उद्योग र विद्युत् प्राधिकरणबिचको विवाद उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा हाल विचाराधीन रहेकै अवस्थामा तिर्नै नपर्ने रकम असुल गर्न उद्योगहरूको विद्युत् लाइन काट्न सुरु गरिएको उद्योगीहरूको आरोप छ ।
ट्रक लाइन र डेडिकेटेड लाइन प्रयोग नगरेका उद्योगलाई पनि महसुल बुझाउन पत्र पठाएकाले आन्दोलनमा उत्रिनुपरेको आन्दोलितहरूको भनाई छ । विद्युत् प्राधिकरणले विद्युत् प्रयोग गरेको प्रमाण उपलब्ध गराए शुल्क तिर्न आफूहरू तयार भएको उद्योगीहरूको भनाई छ ।


































