काठमाडौँ । दुई महिनाभित्रमा सक्ने लक्ष्यका साथ सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा अवस्थित २२०- १३२ केभी सब स्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
सब स्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरू जडान भइसकेका छन् । सब स्टेसनमा २२०-१३२ केभी, १६० एमभीए र १३२-११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरू राखि सकिएको छ । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सब स्टेसनका उपकरणहरू जडान कार्य अन्तिम चरणमा पुगेको निर्माण अनुगमन समितिको जानकारी छ ।

त्यस्तै २२०-१३२ केभी सब स्टेसन निर्माणको समग्र प्रगति करिब ९५ प्रतिशतको हाराहारीमा पुगेको छ । बाह्रबिसेमै ४०० केभीको अर्को सब स्टेसन पनि निर्माणाधीन अवस्थामा छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् यही सब स्टेसनमा जोडिने भएको छ ।
मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सब स्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतगृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको टावरहरु निर्माण गरिसकेको छ । प्रसारण लाइनको करिब २ किलोमिटर तार तानिएको अनुगमन समितिको जानकारी छ ।

आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकेर खेर जाने अवस्था आउन नदिन बाह्रबिसे सब स्टेसन जतिसक्दो छिटो सम्पन्न गर्नु पर्ने दबाबमा प्राधिकरण परेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उप कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र आयोजना व्यवस्थापन निर्देशनालयका उप कार्यकारी निर्देशक तारा प्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले शनिवार सब स्टेसन निर्माण स्थलको अनुगमन गरी बाँकी कामहरू तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ ।
टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिका, प्रसारण लाइनमा भइरहेको अवरोध हटाउन स्थानीयसँग छलफल गरेको थियो । साथै, टोलीले मध्यभोटेकोशी जलविद्युत आयोजनाको पनि भ्रमण गरी हाल भइरहेका परीक्षणका कार्यहरूको जानकारी लिएको थियो ।

कार्यकारी निर्देशक घिसिङले उपकरणहरू सम्पूर्ण आपूर्ति भइसकेको र केही जडान पनि अन्तिम चरणमा पुगेको अवस्थामा जनशक्ति अझै थप गरी दुई महिनाभित्रमा सब स्टेसन निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन्। ‘सब स्टेसन निर्माणको पछिल्लो चरणको प्रगति सन्तोषजनक नै देखिएको छ, नयाँ खिम्ती–बाह्रबिसे र बाह्रबिसे लप्सी फेदी (काठमाडौँ) प्रसारण लाइन निर्माण पनि अन्तिम चरणमा पुगेको छ, अन्य कुनै समस्या नआएमा निर्माण आगामी २-३ महिनाभित्र सम्पन्न हुने अवस्था बनेको छ, त्यसैले सबैले आ–आफ्नोतर्फबाट अन्तिम पहल र कोसिस गरौँ’, घिसिङले भने।

































