काठमाडौँ। नेपाल बीमा प्राधिकरणले नयाँ वेबसाइटको शुभारम्भ गरेको छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको नयाँ वेबसाइटको शुभारम्भ गरेका हुन्।
प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आयोजित एक कार्यक्रममा अध्यक्ष सिलवालले प्राधिकरणलाई थप व्यवस्थित र डिजिटल प्रविधिमा जैलानका निमित्त आफूहरू निरन्तर लागेको र त्यसैको एउटा उदाहरण नयाँ वेबसाइटको शुभारम्भ भएको बताएका छन् ।
अध्यक्ष सिलवालले आगामी साउन १ गतेदेखि प्राधिकरणका काम, कारबाही र सेवा प्रवाह डिजिटल रूपमा हुने जानकारी दिएका छन् साथै बीमा कम्पनीहरूले पनि डिजिटलाइजेनमा प्राथमिकता दिनुपर्ने र कम्पनीका सबै गतिविधिहरू पारदर्शी हुनुपर्ने बताए।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणका काम, कारबाही लगायत समग्र विषयमा नयाँ वेबसाइटबाट जानकारी प्राप्त हुने बताउँदै आगामी दिनमा प्राप्त हुने सुझाव र आवश्यकताका आधारमा वेबसाइटलाई परिमार्जन गर्दै लगिने बताए ।
प्राधिकरणको नयाँ वेबसाइटमा नेपाली र अङ्ग्रेजी भाषामा जानकारी प्राप्त गर्न सकिने र अनलाइन गुनासो सुनुवाइ तथा च्याट बोटको व्यवस्थाका साथै बीमा सन्देश, बीमा साक्षरता लगायतका सामग्रीहरू समावेश रहेको प्राधिकरणले जनाएको छ ।


































