काठमाडौँ। आन्दोलनरत उद्योगीहरूले पाँच बुँदे सहमति भएसँगै आफ्नो आन्दोलन स्थगित गरेका छन् ।
मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर काकी, नेपाल एल.पी.ग्यास उद्योग संघका पदाधिकारीहरूको उपस्थितिमा उक्त पाँच बुँदे सहमति भएको हो ।
आन्तरिकतर्फ ग्यासमा प्रतिसिलिन्डर १२.७५ ले मूल्य वृद्धि गर्ने सहमति भएको छ। यसको प्रभाव उपभोक्तालाई भने नपर्ने नेपाल आयल निगमको भनाई छ ।
ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिन्डर रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाई अध्ययन कार्य अगाडि बढाउने सहमति भएको छ ।
निगमले सम्बोधन गर्न नसक्ने अन्य मागहरू सञ्चालक समिति तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गर्ने र नेपाल एल.पी ग्यास उद्योग संघले आजदेखि एल.पी.ग्यासको आपूर्ति सहज बनाउने सहमति भएको उल्लेख गरिएको छ ।
ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रति सिलिण्डर १२.७५ ले वृद्धि गरेको विषयमा नेपाल एलपि ग्यास उद्योग संघका पदाधिकारीहरूलाई जानकारी गराइयो ।
निगम सञ्चालक समितिको मिति २०८१-११-१८ गतेको निर्णय अनुसार एलपि ग्यास उद्योगको खर्चमा समायोजन गरिए पश्चात् पनि मुनाफा प्रतिशतमा हुनुपर्ने मागलाई निरन्तरता दिई मिति २०८१-११-१८ गते देखि ग्यास उद्योगीहरूले निगमबाट पि.डि.ओ. नउठाएको र सो कारणले बजारमा एल.पि.ग्यासको आपूर्ति असहज बन्न थालेको परिस्थितीलाई मध्यनजर गर्दै हाल ग्यास उद्योगीलाई दिइदै आएको मुनाफा प्रति सिलिण्डर Flat रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाई अध्ययन कार्य अगाडि बढाउने ।
निगम र सघं दुवै पक्षको समन्वयमा सम्बोधन गर्न सकिने मागहरू निगम व्यवस्थापनले सम्बोधन गर्ने ।
निगमले सम्बोधन गर्न नसक्ने अन्य मागहरूका सम्बन्धमा आवश्यक गृहकार्य गरी संचालक समिति
तथा श्री उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गर्ने।
नेपाल एलपि ग्यास उद्योग संघले राखेका मागहरू माथि उल्लेख भएबमोजिम सम्बोधन गर्ने सहमति भएकोले नेपाल एल. पि. ग्यास उद्योग संघले हाल जारी राखेको विरोधको सम्पूर्ण कार्यक्रमहरु आजबाटै फिर्ता लिने र आजबाटै सबै ग्यास उद्योगीहरूले निगमबाट नियमित रुपमा पिडिओ लिई एलपि.ग्यासको आपूर्ति सहज बनाउने ।