काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको सक्रियतापछि लामो समयदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको भाडा बक्यौता संकलनमा उल्लेख्य प्रगति भएको छ। पछिल्ला दुई साताभित्र मात्रै झन्डै ४२ करोड रुपैयाँभन्दा बढी रकम असुल गरिएको हो।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार हालसम्म ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता उठाइसकिएको छ। वर्षौँदेखि भाडा नतिर्ने उद्योग तथा कार्यालयहरूलाई तत्काल भुक्तानी गर्न निर्देशन दिएपछि यो उपलब्धि सम्भव भएको हो।
महाप्रबन्धक पदम ओलीका अनुसार केही उद्योगहरूले २०४५ सालदेखि नै भाडा तिर्न बाँकी राखेका थिए। हालै करिब ६ सयभन्दा बढी उद्योग तथा कार्यालयलाई सार्वजनिक सूचना जारी गरी बक्यौता तिर्न आग्रह गरिएको थियो, जसको प्रभावस्वरूप धेरैले रकम बुझाएका छन्।
निर्धारित समयभित्र भुक्तानी नगर्ने उद्योगमाथि भने कडा कदम चालिएको छ। सुरुआतमा करिब २ सय उद्योगको विद्युत आपूर्ति बन्द गरिएको थियो, जसपछि तीमध्ये धेरैले भाडा चुक्ता गरेर लाइन पुनः जडान गराएका छन्।
अहिले पनि ४५ वटा उद्योगले भाडा नतिरेका कारण तिनको विद्युत सेवा काटिएको अवस्थामा छ। पूर्ण बक्यौता नतिरेसम्म लाइन नजोड्ने स्पष्ट निर्देशन दिइएको लिमिटेडले जनाएको छ।
बक्यौता बढी रहेका उद्योगमध्ये केही कम्पनीहरूको करोडौँ रुपैयाँ बाँकी रहेको छ र तिनको विद्युत लाइन काट्ने प्रक्रिया जारी रहेको छ।
सरकारले अब भाडा असुलीलाई थप कडाइका साथ अघि बढाउने संकेत गरेको छ।


































