काठमाडौं । करेन्ट नुडल्सका निर्माता तथा नुडल्स तथा स्न्याक्स क्षेत्रकै अग्रणी नाम, यशोदा फुड्सले दिगोपनाको यात्रामा महत्वपूर्ण कदम चाल्दै चन्द्रौटा, कपिलवस्तुस्थित आफ्नो कारखानामा ८६५ केडब्ल्यूपी क्षमताको रूफ–टप सोलार परियोजना सफलतापूर्वक जडान गरेको छ । यो परियोजनाले २३ नोभेम्बर २०२५ देखि स्वच्छ तथा हरित सौर्य ऊर्जा मार्फत बिजुली उत्पादन गर्न सुरु गरिसकेको छ । यस संगै यशोदा फुड्स, नेपालमा पहिलो पटक सौर्य ऊर्जामा आधारित नुडल्स उत्पादन गर्ने नुडल्स उद्योग बनेको छ ।
कम्पनीले “नेपालकै पहिलो ग्रिन नुडल्स म्यानुफ्याक्चरिंग फेसिलिटी ” कोे उपमा समेत आफ्नो नाम गराउन सफल भएको छ ।
उक्त परियोजना नेपालकै अग्रणी तथा दीर्घ अनुभव सम्पन्न स्मार्ट सौर्य समाधान प्रदायक प्राइम रिन्यूएवल्स प्रालिद्वारा निर्माण गरिएको हो । परियोजनाका लागि एनएमबी बैंक लिमिटेडद्वारा वित्तिय सुविधा उपलब्ध गरिएको थियो । त्यसैगरी, जर्मन ग्रान्ट डीकेटीआई परियोजना अन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी)ले व्याज अनुदानसहितको वित्तीय सहयोग प्रदान गरेको हो ।
“हामी समग्र यशोदा फुड्स परिवार, नुडल्स तथा स्न्याक्स क्षेत्रमा नेपालकै पहिलो सौर्य प्रणाली चन्द्रौटा प्लान्टमा जडान गर्न पाउँदा अत्यन्त गर्वित छौँ । यसले कार्बन उत्सर्जन घटाउनुका साथै करेन्ट नुडल्सलाई संचालनमा दिगोपनाको दिशातर्फ लैजान ठूलो मद्दत गर्नेछ ।” , डिसेम्बर २ मा चन्द्रौटा प्लान्टमा आयोजित उद्घाटन समारोहमा बोल्दै ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जी.पी. साहले भन्नुभयो, “ ८५६ केडब्ल्यू क्षमताको यस प्लान्टबाट हरेक वर्ष १० लाख युनिटभन्दा बढी बिजुली उत्पादन हुनेछ । जसले २,००० टन सीओटू उत्सर्जन बचत गर्नेछ । यसले उत्पादन लागत घटाउने भएकाले हामी अझ प्रतिस्पर्धी बन्नेछौँ र हाम्रा ग्राहक तथा स्टेकहोल्डरहरूलाई थप भ्याल्यू प्रदान गर्न सक्षम हुनेमा हामी विश्वस्त छौँ ।”
“हामी ईपीसीका ठेकेदारको रूपमा तीन महिनाभित्र यो परियोजना सफलतापूर्वक सम्पन्न गर्न सफल भएका छौँ । नविनतम सोलार पीभी प्रविधि, उच्च कार्यक्षमताका बाइफेसियल सोलार प्यानल तथा एआई सक्षम स्मार्ट इनभर्टरको उपयोग भएको यो परियोजना सफलतापूर्वक हस्तान्तरण गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ ।”, प्राइम रिन्यूएवल्सका अध्यक्ष श्री आशिष गर्गले भन्नुभयो ।
सौर्य ऊर्जा, विश्वभर नै वातावरणमैत्री तथा सस्तो ऊर्जास्रोतको रूपमा तीव्र गतिमा विकसित हुँदै गइरहेको छ । जीवाश्म इन्धनलाई चरणबद्ध रूपमा विस्थापित गर्दै विश्व हरित ऊर्जातर्फ अग्रसर भइरहेका बेला आवासीय, औद्योगिक र युटिलिटी स्केल सौर्य ऊर्जा अपनाउने दर उल्लेखनीय रूपमा बढ्दै गइरहेको छ । नेपाली उद्योगहरूले पनि अब छानामाथिको सौर्य समाधानलाई कम लागतको विद्युत स्रोत तथा डिकार्बोनाइजेशनका उपायका रूपमा तीव्र गतिमा अंगिकार गरिरहेका छन् । एईपीसीले पछिल्ला वर्षहरूमा यस्ता पहललाई निरन्तर समर्थन गर्दै आएको छ र हालसम्म २५ मेवा संयुक्त क्षमताका ५० भन्दा बढी उद्योगहरूले यस्ता सोलार प्रणाली जडान गरिसकेका छन् । साथै, यो संख्या दैनिक रूपमा बढ्दै गइरहेको जानकारी दिइएको छ । नेपाल जलविद्युतमा धनी भएता पनि, सौर्य ऊर्जा भण्डारण प्रविधिसँग जोडिँदा सुख्खा मौसममा नदीको पानी घट्दा अत्यन्त उपयोगी वैकल्पिक ऊर्जा स्रोत बन्न पुगेको छ । नेपाल ईलेक्ट्रिसिटी अथोरिटी (एनईए)ले औद्योगिक रूफ–टप परियोजनाहरूलाई नेट–मिटरिङ सुविधा उपलब्ध गराउने भएकाले अतिरिक्त उत्पादन राष्ट्रिय ग्रिडमा प्रवाह समेत गर्न सकिन्छ । उद्योग परिसरभित्रै उत्पादित स्व–आश्रित ऊर्जाले प्रसारण तथा वितरण प्रणालीमा पर्ने भार घटाउने भएकाले पूर्वाधार लागत पनि कम हुन्छ । यस्ता रूफ–टप सौर्य परियोजनालाई अझ प्रोत्साहन गर्नु आवश्यक देखिन्छ ।


































