काठमाडौँ । आम्दानीमा सुधार देखिए पनि घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड अझै घाटामै रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ करोड ८६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको वित्तीय विवरणमा उल्लेख छ । यद्यपि, यो घाटा अघिल्लो वर्षको सोही अवधिको ५५ करोड ४३ लाख रुपैयाँको तुलनामा उल्लेखनीय रूपमा कम हो ।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी वृद्धि भएको छ ।
यस अवधिमा कम्पनीको अन्य आम्दानी पनि बढेर २ करोड ५५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ३५ लाख २० हजार रुपैयाँ मात्र थियो ।
तर, सञ्चालन खर्चहरू भने उच्च नै रहेका छन् । प्रशासनिक, बिक्री तथा वितरण खर्च १३ करोड ८४ लाख रुपैयाँ, ह्रासकट्टी खर्च ५० करोड रुपैयाँ र वित्त खर्च ४९ करोड १८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष वित्त खर्च ६८ करोड ८७ लाख रुपैयाँ थियो, जसमा यस वर्ष केही कमी आएको देखिन्छ ।
कम्पनीको रिटेन्ड अर्निङ पनि घटेर १ अर्ब ४८ करोड रुपैयाँबाट ७९ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ ।
वित्तीय सूचकहरू अनुसार, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३.१६ रुपैयाँले ऋणात्मक रहेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १६८.६९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४३६.९५५ रुपैयाँ र तरलता अनुपात ०.८३२ प्रतिशत रहेको छ ।


































