काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवन बीमा मध्य सबैभन्दा पहिला साधारण सभा सम्पन्न गर्ने कम्पनी बनेको छ । नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र अघिल्लो वर्षको साधारण सभा गरि सक्नु पर्ने प्रावधान छ । यहि प्रावधानमा रहि सूर्यज्योति लाइफले १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १७औं वार्षिक साधारणसभा विराटनगरस्थित बिग होटलमा भव्य रूपमा सम्पन्न गरेको छ।
सभाले कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरू छलफल गरी सर्वसम्मतिले पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८०/८१ को लागि प्रस्तावित २०% नगद लाभांश (कर प्रयोजनसहित) पारित गरेको छ, जसअनुसार कुल रु. १,००,२३,८९,५५९।४९ नगद लाभांश वितरण गरिनेछ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा भएका खर्चहरूलाई अनुमोदन गर्नुका साथै, सभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षकको रूपमा श्री सुजन काफ्ले एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गरेको छ। सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट रिक्त रहेको पदमा नियुक्तिको अनुमोदन गर्दै कम्पनीको व्यवस्थापनलाई थप सुदृढ बनाउन महत्वपूर्ण निर्णयहरू गरेको छ।
कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले साधारणसभालाई सम्बोधन गर्दै कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजनाहरू, र नवीन सेवा विस्तारमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। उनले कम्पनीको निरन्तर प्रगतिको श्रेय शेयरधनीहरूको विश्वास, ग्राहकहरूको साथ, र कम्पनीका कर्मचारीहरूको मेहनतलाई दिनु भयो।
साधारणसभाका दौरान, शेयरधनीहरूले कम्पनीप्रतिको आफ्नो विश्वास र आगामी दिनका लागि अपेक्षाहरू राखेका थिए।सभामा प्रस्तुत भएका सबै प्रस्तावहरू सर्वसम्मतिले पारित गरिएका छन्। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवा गुणस्तरलाई अझ सुधार गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता दोहोर्याएको छ।

































