काठमाडौं । नेपाल बिमक संघका अध्यक्ष तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र वैदवार क्षेत्रीले रसुवा बाढीबाट प्रभावित बिमितका साना रकमका बीमा दाबीलाई छिटो फर्छ्यौट गर्ने तयारी भइरहेको बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै क्षेत्रीले ५ करोडदेखि १० करोड रुपैयाँसम्मका बीमा दाबी एक महिनाभित्रै फर्छ्यौट गर्ने गरी प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
प्राकृतिक विपत्ति तथा बाढीपहिरोबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले संक्षिप्त कार्यविधिमार्फत साना दाबी फर्छ्यौट गर्ने तयारी गरिएको उनले बताए ।
उनका अनुसार बीमा प्राधिकरणसँग समन्वय गरी सोमबार वा मंगलबारसम्म दाबी फर्छ्यौटसम्बन्धी संक्षिप्त कार्यविधि पारित गर्ने तयारी छ ।
क्षेत्रीले हालैको प्राकृतिक विपत्तिका कारण माथिल्लो त्रिशूली, रसुवागढी, माथिल्लो तामाकोशी, लामटाङलगायत चार–पाँच ठूला जलविद्युत आयोजनासहित अन्य संरचनामा समेत ठूलो क्षति पुगेको बताए ।
जलविद्युत आयोजनामा भएको क्षति विगतमा निर्जीवन बीमा कम्पनीहरूले व्यहोर्दै आएको दाबीको आकारभन्दा २ देखि ४ गुणासम्म बढी हुन सक्ने प्रारम्भिक अनुमान रहेको उनले उल्लेख गरे ।
अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरूले नेपालका जलविद्युत आयोजनालाई जोखिमयुक्त क्षेत्रका रूपमा हेर्दै बीमा कभरेज दिन हिचकिचाउने गरेको क्षेत्रीले बताए । नेपालमा अन्तर्राष्ट्रिय स्तरमा जोखिम हस्तान्तरण गर्न पर्याप्त पूर्वअध्ययन तथा आधुनिक प्रविधिको कमी रहेको उनको भनाइ थियो ।
उनले आगामी दिनमा निर्माण हुने जलविद्युत आयोजनाका संरचना प्राकृतिक विपत्तिको जोखिम सामना गर्न सक्ने गरी निर्माण गर्नुपर्नेमा जोड दिए ।
‘अब बन्ने जलविद्युत संरचनाहरू विपद् थाम्न सक्ने गरी गुणस्तरीय र जोखिम न्यूनीकरण गर्ने खालका हुनुपर्छ,’ उनले भने ।


































