काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सले बैंकिङ क्षेत्रमा अनुभवी इन्जिनियर विभोर झालाई नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
झाले वित्तीय क्षेत्रमा प्रमुख वित्तीय अधिकृत, ट्रेजरी विभाग प्रमुख तथा निर्देशित कर्जा प्रमुखजस्ता विभिन्न नेतृत्वदायी भूमिकामा काम गर्दै उल्लेखनीय अनुभव हासिल गरेका छन्। उनी हाल सानिमा क्यापिटलको सञ्चालक समितिमा सदस्यको रूपमा समेत आवद्ध छन्।
शैक्षिक रूपमा उनले वित्तीय व्यवस्थापनमा स्नातकोत्तर र इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरेका छन्। हिमालयन लाइफमा आउनुअघि उनी सानिमा बैंकमा १२ वर्षभन्दा बढी समय कार्यरत थिए, जहाँ उनले पछिल्लो समय निर्देशित कर्जा प्रमुखको जिम्मेवारी सम्हालेका थिए। त्यसअघि उनले नबिल बैंकमा पाँच वर्षभन्दा बढी अनुभव संकलन गरेका थिए।


































