काठमाडौं - काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ।
मृतक महिला तारकेश्वर नगरपालिका–११, नेपालटार निवासी रश्मी रिजाल रहेको खुलेको छ। काठमाडौं प्रहरीका अनुसार रिजाल सानिमा क्यापिटल लिमिटेडकी कम्प्लायन्स अफिसर, प्रवक्ता तथा मर्चेन्ट बैंकिङ हेडका रुपमा कार्यरत थिइन्।
परिवारका अनुसार रिजाल शुक्रबारदेखि सम्पर्कविहीन भएकी थिइन्। खोजीका क्रममा उनको शव साङ्गला–पटापुमा क्षेत्रमा रोकिराखेको कारको पछाडिपट्टीको सिटमा जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेले बताए।
प्रहरीका अनुसार रिजालले आफूले चढ्ने बीएई ०४१० नम्बरको ईभी कार आफैंले लिएर हिँडेको सीसीटीभी फुटेजमा देखिएको छ। प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको बताएको छ।
रिजालको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।


































